काठमाडौं १२ साउन । खोटाङका नेतृत्व तहमा बस्ने व्यक्तित्वहरुले सामुहिकतामा हिचकिचावट गर्ने र दलिय सहभागिता गराउन लोभ गर्ने गरेको पाइएको छ ।
दलिय रुपमा खोटाङमा संकुचित भावना राख्ने र कुनै सार्वजनिक सरोकारको विषय गर्दा समेत सामूहिक भावना कमै राख्ने गरेको पाइएको हो ।
शुक्रबार आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री गिरिराजमणी पोखरेल ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा शुक्रबार राजधानीमा आयोजित जिल्लाको नुनथालामा सञ्चालन हुन गइरहेको बहुप्राविधिक शिक्षालय स्थापना र प्रभावकारिता सञ्चालनार्थ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा बाहेका दलको सहभागिता नै रहेन । कार्यक्रममा मन्त्रीलाई ल्याउने र प्रचारात्मक गर्ने जस्तै मात्र देखिएको थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल प्रमुख अतिथि थिए भने जिल्लाबाट प्रतिनिधित्व गर्ने संघ तथा प्रदेशका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकका प्रमुख, नेकपाका नेता कार्यकर्ता थिए । कार्यक्रम सार्वजनिक चासोको विषयको भएपनि सहभागिता हेर्दा भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मात्रै कुनै कार्यक्रम जस्तो देखिएको थियो । ड्यासमा मात्र नभएर सहभागिता समेत नेकपा बाहेकको पाउन गाह्रो रहेको थियो । कार्यक्रममा खोटाङकै बौद्धिक समुदायलाई समेत खबर नगरेको पाइएको छ ।

कार्यक्रमबारे सञ्चारकर्मीसँग राम्राे समन्वय  नगर्दा उपस्थिति न्यून थियाे । खोटाङबाट काठमाडौं आएर आधा दर्जन बढी सक्रिय पत्रकारितामा रहेका छन् भने शिक्षा बिटमा दर्जन बढी पत्रकार राजधानीमा रहँदा पनि कमजोर समन्वयको अभावमा उपस्थिति खासै देखिएकाे थिएन ।

सामूहिकता र दलिय सहभागिता पनि नहुने तथा बौद्धिक जगत र मिडियासँग पनि समन्वय  नगर्नाले मन्त्री उपस्थित कार्यक्रमको प्रभावकारिता भने सहभागिले सेल्फीको फोटो सार्वजनिक गर्नु बाहेक बन्द कोठामा मात्रै सिमित बन्न पुगेको हो ।
यो त एक उदाहरण मात्र हो, जिल्लाका सांसद तथा जनप्रतिनिधिहरुले सार्वजनिक सरोकारको विषयमा मन्त्रालय तथा सम्बन्धित निकायमा ध्यानार्षण गराउने गर्दै आएका छन् । त्यस्ता कार्यक्रम समेत योजनाका साथ प्रभावकारी कसरी गराउने र दलिय तथा सरोकारवाला व्यक्तिहरुलाई सहभागि गराएर प्रभावकारी बनाउन समेत हिचकिचावट गर्ने गरेको पाइएको छ ।
दुधकोशी पुल निर्माणका क्रममा भौतिक यातायात मन्त्रालय तथा सडक विभागमा झण्डै आधा दर्जन पटक डेलिगेशन जाने क्रममा तत्कालिन एमालेका सांसद र एमाले निकट भन्दा खासै उपस्थित नै नहुने गरेका थिए । आयोजकले पनि नबोलाउने र अन्य दलले पनि थाहा पाएर पनि नजाने चलन अहिले पनि चल्दै आएको छ ।
जिल्लामा हुने औपचारिक कार्यक्रममा दलिय सहभागिता देखावटी भएपनि विकास निर्माण तथा सार्वजनिक सरोकारको विषयमा भने दलिय सामूहिक एकता गर्न जिल्लाका नेताहरु तथा नेतृत्व तहका व्यक्तित्वहरुमा संकुचन भावना पाइएको हो ।
खोटाङे नेतृत्व तहमा बसेकाहरु अरुलाई बोलाउँदा भाग खोसिदेला कि जस्तो गर्ने र विकास निर्माण तथा सार्वजनिक सरोकारका विषयमा एक रुपता नहुँदा त्यसको असर भने विकास निर्माण र सर्वसाधरणसम्म ठोकिने गरेको छ ।