मंसिर–१९ । खोटाङको लिकुवापोखरी गाविसलाई जिल्लाको ११ औं खुला दिसामुक्त गाविसका रुपमा घोषणा गरिएको छ । खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति खोटाङ, गाउँ स्तरीय सरसफाई समन्वय समिति र गोर्खा वेलफेयर स्कीम पूर्व क्षेत्रीय कार्यालय धरानको पहलमा गाविसका सबै घरपरिवारमा पक्की सौचालय निर्माण गरेपछि गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरिएको हो ।
‘लिकुवापोखरीको सान, एक घर एक चर्पी हाम्रो अभियान’ भन्ने नारासहित कार्यक्रमका प्रमुख अतिथि एवम् सभाषद विशाल भट्टराईले गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुभएको हो । गाविसका सबै चार सय ५२ घरमा पक्की सौचालय निर्माण भएपछि गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको गाविस सचिव जानकी भट्टराईले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईको विशेष आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तीर्थराज भट्टराई, एमाले खोटाङका अध्यक्ष ववि चाम्लिङ, एकीकृत नेकपा माओवादी खोटाङका अध्यक्ष देवान किराती ‘पृथ्वी’, राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष ताराकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी खोटाङका अध्यक्ष श्यामराज राई, नेकपा–माओवादी खोटाङका सह इन्चार्ज सुनिल चौलागाई, जिल्ला विकास समितिका कार्यकारी सचिव सन्तोष राई, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय खोटाङका लेखापाल राजिव रम्तेल, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष धनप्रसाद गिरी, नेपाल पत्रकार महासंघ खोटाङका केन्द्रीय पार्षद दिलीप खत्री, गोर्खा वेलफेयर स्कीम पूर्व क्षेत्रीय कार्यालय धरानका योगेन्द्र सम्बाहाम्फे, नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङका सदस्य गुरुप्रसाद पोखरेल, बीणा मावि लिकुवापोखरीका प्रधानाध्यापक महेशप्रसाद दाहाल लगायतले कार्यक्रममा सफलताको शुभकामना दिएका थिए । कार्यक्रमका वक्ताहरुले लिकुवापोखरी गाविस भौगोलिकरुपमा बिकट भएपनि हरेक क्रियाकलापमा अघिरहेको प्रति प्रशंसा गरेका गरेका छन् ।
गाविस सचिव तथा गाउँ स्तरीय खानेपानी सरसफाई तथा स्वस्च्छता समन्वय समितिका अध्यक्ष जानकी भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा गाविसलाई खुला दिशामुक्त गाविस घोषणा गर्नमा सहयोग पु¥याउने विभिन्न व्यक्तित्व तथा संघसंस्थालाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा सरसफाई सम्बन्धी सन्देश मूलक गीतमा नृत्य तथा सरसफाई सम्बन्धी सन्देश मूलक नाराजुलुस लगाइएको थियो ।
यसअघि जिल्लाका नुनथला, जालपा, बाकाचोल, दिप्सुङ, खिदिमा, नेर्पा, लफ्याङ, हौंचुर, छोरम्बु र लिच्कीराम्चे गाविस खुला दिशामुक्त क्षेत्र घोषणा भइसकेका छन् । आगामी चैत्र मसान्तभित्र जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरिएको छ ।