मंसिर–२३, खोटाङको उत्तरी गाविस बडकादियालेस्थित गबैंचा गाउँमा खानेपानीको हाहाकार भएको छ । नजिकैका धारा तथा कुवा सुकेपछि वडा नम्बर–५ मा पर्ने बगैंचा गाउँका नौं घर दलितसहित १७ घरपरिवारमा बिगत दुई वर्षदेखि खानेपानीको समस्या भएको हो । 
गाउँको नजिकमा रहेका धारा तथा कुवा सुकेपछि तीन घण्टा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय रीता नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खानेपानी लिनकै लागि एक जनाको बिहान जान्छ, यसले गर्दा विशेषगरी केटाकेटीको पढाइमा असर पुगेको छ ।’
नौं घर दलितसँगै चार घर श्रेष्ठ र चार घर कार्की परिवार बसोबास गर्ने उक्त गाउँमा हालसम्म कुनै योजना नपरेको स्थानीय सन्तोष सुयलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मान्छेले त जसोतसो बोकेरै भएपनि खाइन्थ्यो,  गाईवस्तुलाई समेत गाग्रोमा बोकेको पानी खुवाउनु पर्दा ज्यादै समस्या भएको छ ।’
त्यस क्षेत्रमा एउटा मात्र कुवा भएकाले बिहान सबेरै नगए पानी नपाइने स्थानीयको भनाइ छ । आफूहरुको यत्तिका समस्या हुँदाहुँदै पनि कसैको ध्यान नपुगेको उनीहरुको अरोप छ ।