मंसिर–२६, जिल्लाको दक्षिणी गाविस वाप्लुखामा प्रहरी चौकी र कुटानीपिसानी मील एउटै भवनमा सञ्चालन गर्दा समस्या भएको छ । विद्यालयको खाली रहेको भवनमा प्रहरी चौकी र मील सञ्चालन गर्दा समस्या भएको हो ।
प्रहरी चौकीको आफ्नै भवन नभएपछि मील राखिएको विद्यालयको भवनमा प्रहरी चौकी समेत सञ्चालन गर्दा दैनिक काम कारबाहीमा समस्या भएको चौकीका ईन्चार्ज प्रहरी हवल्दार लालचन राजवंशीले बताउनुभयो । उहाँले भन्नुभयो, “चौकीमा कतिपय कुरा गोप्य पनि हुन्छ, मीलमा आउने सर्वसाधारणको भीडभाड र मीलको आवाजले ज्यादै असर परेको छ ।”
 जिल्लाको दक्षिणी गाविस वाप्लुखास्थित अस्थायी प्रहरी चौकी । आफ्नै भवन अभावमा विद्यालयको भवनलाई कोठा बाह्रेर एउटामा प्रहरी चौकी र एउटामा मील राखिएको छ ।
एकै ठाउँ राखिएको मीलको आवज र सर्वसाधारणको भीडले प्रहरी चौकीलाई असर गर्ने भएपछि कुटानीपिसानीको काम चाँही हप्ताको एक दिन शनिबार मात्र गर्ने गरिएको स्थानीय विष्णु विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसमा राज्यले चाँडो  भन्दा चाँडो व्यवस्था गर्नुपर्छ ।” 
यसबारे सम्बन्धित निकायमा पहल भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माण नभएसम्मका लागि अन्य कुनै ठाउँमा कोठा भाडा लिएर भएपनि त्यस ठाउँबाट सार्ने तयारीमा लागेका छौं ।”
विद्यालयको एउटा मात्र कोठा रहेको उक्त भवनमा कोठा बाह्रेर एउटामा प्रहरी चौकी र एउटामा मील सञ्चालन गरिएको छ । प्रहरी सहायक निरीक्षकको कोटा रहेको उक्त चौकीमा प्रहरीलाई ठाउँ अभावका कारण खान, बस्न र सुत्न बस्न समेत समस्या भएको छ । 
द्धन्द्धको समयमा भवन ध्वस्त भएपछि हटाइएको उक्त प्रहरी चौकी पुनः २०६८ सालमा पुर्नस्थापना गरिएको थियो । तीन वर्ष अघि पुनः सञ्चालनमा आएको उक्त चौकीको समस्याका बारेमा हालसम्म कसैको ध्यान नपुगेको स्थानीयको भनाइ छ । 
स्रोतका अनुसार उक्त प्रहरी चौकीको भवन निर्माणका लागि पाँच रोपनी जग्गा खरिद समेत गरिएको छ । चौकीको नाममा जग्गा भएपनि भवन निर्माणका लागि कुनै पहल नभएको स्थानीयको आरोप छ ।