सन्तोषकुमार राई/खोटाङ
साउन–१३, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका मौसमकुमारी राई वैदेशिक रोजगारीको लागि भारतको बाटो हुँदै लेवनान पुग्नुभयो । मौसमकुमारीलाई थाहै थिएन की वैदेशिक रोजगारीको लागि भारतको बाटो हुँदै जाँदा अलेखबद्द अर्थात असुरक्षित भईन्छ भनेर ।

जे जसरी होस् उहाँ लेवनान पुग्नुभयो । ६ बर्षसम्म लेवनानमा संघर्ष गर्दा राईले वैदेशिक रोजगारीको राम्रै अनुभव बटुल्नुभयो । घरकी जेठी छोरी, सुरुको तीन बर्षमा छुट्टीमा घर फर्कनुभएको मौसम फेरि लेवनान नै फर्कनुभएको थियो । फेरि लेवनान फर्कँदा भने उहाँले नेपालकै विमानस्थल प्रयोग गर्नुभयो । उहाँले छुट्टीमा आउँदा श्रमस्विकृती, जीवन बिमा आदि प्रक्रिया समेत पूरा गर्नुभयो ।
६ बर्षको अन्त्यमा तलबकै बारेमा कुरा नमिलेपछि मौसमकुमारी नेपाल फर्कनुभयो र आफ्नै माटोमा केही न केही गर्छु भन्ने प्रतिज्ञा गर्नुभयो ।

  हाल कोहि बिदेश जानेवाला छ भन्ने थाहा पाउन साथै उहाँ तुरुन्तै भेट्न जानुहुन्छ । भेटेपछि बिदेश जाँदा अपनाउनुपर्ने प्रक्रियाहरुको बारेमा जानकारी गराउनुहुन्छ । अन्य सूचना पनि दिनुहुन्छ । साहुको ऋणमा विदेश गएको कोहि नबिग्रीयोस, ठगीमा नपरोस सबैको बैदेशिक रोजगार सुरक्षित, सुखद् तथा उपलब्धीमूलक बनोस् भन्ने उहाँको ध्येय हुन्छ । 

वैदेशिक रोजगारीमा गई फर्केको र फेरि वैदेशिक रोजगारीमा नजाने प्रतिबद्दता जनाउनेलाई परिचालन गरिने रिटर्नी स्वयमसेवकको रुपमा समेत मौसमकुमारीले काम गर्नुभएको छ ।
हलेसी तुवाचुङ नगरपालिका, नवकिरण सेवा समाज नेपाल र सुरक्षित आप्रवासन परियोजना(सामी)को पहलमा उहाँले एक बर्षसम्म वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उदेश्यले स्वयमसेवकको रुपमा वडामा काम गर्नुभएको हो । गत असार मसान्तमै उहाँको कार्यावधी सकिए पनि सो कामलाई भने उहाँले निरन्तर दिईरहनुभएको सामीले जनाएको छ ।

रिटर्नी स्वयमसेवक हुँदा उहाँले बैदेशिक रोजगारमा जाँदा अपनाउने प्रक्रिया, ठगीबाट बच्न अपनाउनुपर्ने सावधानीका साथै नेपाल सरकारको नीतिनियमहरुको बारेमा जानकारी गराउनुभएको थियो  । रिटर्नी स्वयमसेवक हुँदा हलेसी तुवाचुङ नगरपालिका –३ वाट  वैदेशिक रोजगारीमा गएकाको तथ्याङक संकलन समेत गरेको उहाँ बताउनुहुन्छ । त्यसबीचमा वडामा सञ्चालन भएको बिभिन्न कार्यक्रमहरुमा गई वैदेशिक रोजगार सम्बन्धि आफ्नो भोगाई सुनाउनका साथै सुचनाहरु बिस्तार गरेको उहाँ सुनाउनुहुन्छ । वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेको ब्याक्तिहरुलाई भेटी सीप तालिम लिएर मात्र जानको लागि पहल गर्ने कार्य समेत उहाँले गरिरहनुभएको छ ।

मौसमकुमारी जस्तै अन्य जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेंसी गाउँपालिकाका वडाहरुमा रिटर्नी स्वयमसेवक परिचालन गरिएको थियो ।
 रिटर्नी स्वयमसेवकहरुले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको जनप्रतिनिधिहरुको भनाई छ ।