पुस–१, पेस्तोल देखाउँदै गाउँलेलाई कुटपिट गर्ने र ज्यान लिने धम्की दिने चिसापानी–३ का २१ वर्षीय प्रविण राईलाई तीन वर्ष कैंद सजाय सुनाइएको छ । पेस्तोल देखाएर गाउँमा आतङ्क मच्याएको आरोपमा पक्राउ परेका राईलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मंगलबार तीन वर्ष कैंद सजाय सुनाइएको हो । 
पेस्तोल देखाएर गाउँलेलाई कुटपिट गर्नुका साथै ज्यान धम्की दिने गरेको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा गत जेठ–२ गते राईलाई पक्राउ गरिएको थियो । पक्राउ परेलगत्तै जिल्ला प्रशासन कार्यालयले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएका राईलाई मंगलबार तीन वर्ष कैद सुनाइएको जिल्ला प्रशासन मुद्दा शाखाका नायव सुब्बा लीलबहादुर विश्वकर्माले जानकारी दिनुभयो । 
पक्राउ परेपछि अनुसन्धानका क्रममा प्रहरीले राईको खेतमा लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र थ्रीनटथ्री राईफलको दुई थान गोली बरामद गरेको थियो । राईसँगै सोहि अभियोगमा पक्राउ परेका चिसापानी–३ का रबिन राईलाई भने प्रशासनले सफाइ दिएको छ ।