पुस–२, खोटाङ सदरमुकाम दिक्तेलमा आँखा उपचार केन्द्रको छुट्टै भवन बनेपछि आँखाका बिरामी लाभान्वित भएका छन् ।
आँखा उपचार केन्द्र दिक्तेलमा आँखा परिक्षण गराउँदै महिला । |
दश वर्षअघि देखि जिल्ला अस्पतालको एउटा कोठाबाट सञ्चालन हुँदैआएको आँखा उपचार केन्द्रको छुट्टै भवन निर्माण गरिएपछि जिल्लाका आँखाका बिरामी लाभान्बित भएका हुन् । उपचार केन्द्रको आफ्नै भवन बनेपछि आँखाका बिरामीलाई ‘काउन्सिलिङ’ गर्नका लागि सहज वाताबरण बनेको आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले बताए ।
अलग्गै भवन र गोप्य कोठा निर्माण भएपछि आँखाका बिरामीले खुलेर आफ्नो समस्या राख्ने र राय सल्लाह लिने वाताबरण बनेको केन्द्र प्रमुख श्रेष्ठको भनाई छ । ‘केन्द्रको आफ्नै भवन बनेपछि बिरामीलाई सेवा प्रदान गर्न हरेक हिसावले सहज भएको छ,’ केन्द्रका प्रमुख श्रेष्ठले भने, ‘सबैभन्दा बढि बिरामीलाई काउन्सिलिङ गर्न सहज भएको छ ।’ आफ्नो छुट्टै भवन बनेसँगै आँखाका बिरामीको उपचार गर्न आउने बिरामीको संख्या बढेको आँखा उपचार केन्द्रले जनाएको छ । भवन बने यता मासिक ४ सयको हाराहारीमा आँखाका बिरामीले सेवा पाइरहेको केन्द्र प्रमुख श्रेष्ठले जनाए ।
केन्द्रको पाँच कोठे भवन निर्माणअघि आँखाको उपचारका लागि आवश्यक कोठाहरु थिएनन् । केन्द्रले साँघुरो कोठाबाट सबै सेवा प्रबाह गर्दैआएको थियो । बिरामी लिएर आउने आफन्त बस्ने आवश्यक ठाउँ थिएन । केन्द्रका अनुशार छुट्टै कोठाको अभावमा आँखा सम्बन्धी जिज्ञासा लिएर सोधपुछ तथा परामर्शका लागि आउने कतिपय बिरामीले खुलेर आफ्नो समस्यबारे प्रष्टयाउन सक्ने वाताबरण पनि थिएन । भीडै–भीडकाबीचमा समस्या बताउन उनीहरु अप्ठ्यारो मान्थे । ‘आँखा उपचार केन्द्रका लागि अस्पतालमा एउटा कोठा थियो,’ श्रेष्ठले भने, ‘त्यही कोठाको एउटा कुनामा टिकट काटिन्थ्यो, त्यही छेउमा बिरामीको जाँच हुन्थ्यो, त्यही चश्मा बनाइन्थ्यो, तर अहिले त्यस्तो समस्या छैन ।’
रोजगारीका सिलसिलामा हङकङ पुगेर काम गरिरहेका खोटाङ्गेले स्थापना गरेको संस्था खोटाङ सेवा समाज हङकङको ३० लाख ४७ हजार आर्थिक सहयोगमा केन्द्रको भवन निर्माण गरिएपछि आँखा सम्वन्धी उपचारमा सहज वाताबरण बनेको हो । गत भदौ–५ गते उदघाटन गरिएको आँखा उपचार केन्द्रको भवनबाट आँखा सम्वन्धी सबै किसिमको जाँच गर्नुका साथै चश्मा वितरण, माइनर अपरेशन लगायत कानको समेत सामान्य उपचार सेवा प्रदान गर्दैआएको श्रेष्ठले बताए । चौधरी आँखा अस्पताल लाहानको सहयोगमा २०६१ बैशाख–१५ गतेदेखि जिल्ला अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन हुँदैआएको छ ।
जिल्लाका आँखाका रोगीहरुको उपचार जिल्लामै गर्ने व्यवस्था मिलाउने उद्देश्यका साथ नेपाल नेत्र ज्योति संघ शाखा दिक्तेलको आग्रहमा खोटाङ सेवा समाज हङकङले आँखा उपचार केन्द्रको भवन निर्माण गरिदिएको हो । आवश्यक भवनको अभावमा आँखाको प्रभावकारी उपचार सेवा नहुँदा जिल्लाका आँखाका रोगीहरु ठूलो रकम खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता थियो ।
हङकङमा बस्ने खोटाङ्गेबाट प्रतिव्यक्ति ५ सयदेखि १५ हजार हङकङ डलर संकलन गरेर जम्मा गरिएको रकमबाट पाँच महिना लगाएर जिल्ला अस्पताल दिक्तेलको परिसरमा आँखा उपचार केन्द्रको भवन निर्माण गरिएको खोटाङ सेवा समाज हङकङका अध्यक्ष अधिराज राईले जानकारी दिए । केन्द्रको भवन निर्माणका लागि जिल्ला अस्पतालले आवश्यक जग्गा उपलब्ध गराएको छ ।