पुस–३, जिल्लामा उत्पादन गर्न लागिएको रावाखोला हाईड्रोपावर सञ्चालनका लागि शेयर लगानीकर्ता जुटाउन अभियान थालिएको छ । विद्युत उत्पादनको जिम्मा लिएको दुधकोकोशी हाईड्रोपावर कम्पनीले उत्पादन गर्न लागेको छ दशमलव पाँच मेगावाट क्षमताको रावाखोला जलविद्युत योजनाका लागि लगानीकर्ता जुटाउन अभियान थालिएको हो ।
सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालनको तयारी गरिएको हाईड्रोपावरका लागि जिल्लाबासीलाई बढि स्वामित्व प्रदान गर्नेगरी अभियान थालिएको दुधकोकोशी हाईड्रो पावर कम्पनीका अध्यक्ष प्रेम लामाले बताउनुभयो । लामाले भन्नुभयो, “शेयर लिन इच्छुक खोटाङबासीले देश तथा विदेश जुनसुकै स्थानबाट ‘सकेको’ लगानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।”
लामाका अनुसार बाहिरका लगानीकर्ताहरु लगानीका लागि होडबाजी गरिरहेका भएपनि जिल्लाको योजनामा जिल्लाबासीकै बढि स्वामित्व रहोस् भन्ने हाम्रो चाहना राखिएको छ । करिब एक अर्ब बढिको लागतमा पूरा हुने जलविद्युत आयोजनाका लागि ३० प्रतिशत रकम शेयर लगानीकर्ताबाट जुटाउने तयारी गरिएको लामाले जानकारी दिनुभयो ।
भविष्यमा आएको मुनाफा दिनेगरी लगानीकर्ताका लागि शेयर खुल्ला गरिएको कम्पनीले जनाएको छ । लामाले भन्नुभयो, “योजनाका लागि आफ्नो क्षमता अनुसार लगानी गर्ने व्यवस्था छ, पछि नौं वर्षसम्म १५ प्रतिशत र दशौं वर्षपछि २५ प्रतिशतका दरले लाभांश दिने कम्पनीको योजना छ ।”
जिल्लाको हौंचुर र जालपा गाविसकोबीचबाट बहने रावा खोलाको पानीलाई हौंचुरको भैंसेबाट खसाएर विद्युत उत्पादन गर्नेगरी काम सुरु गरिएको छ । २०७० साल माघमा काम थाल्ने अनुमती लिएको कम्पनीले हौंचुरको मंगलबारेमा बाँध बनाएर दुई हजार तीन सय ३१ मिटर लामो कुलोबाट पानी खसाउने तयारी गरेको जनाएको छ ।
नेपाल सरकारसँग २०६९ सालमा विद्युत खरिद–बिक्री सम्झौता गरिएको योजनाबाट वार्षिक २० करोड ५० लाख ८० हजार आम्दानी गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । ३० वर्षपछि स्वतः सरकारलाई हस्तान्तरण गरिने योजनाका लागि बैंक तथा वित्तीय कम्पनीबाट ७० प्रतिशत ‘लोन’ जुटाइने अध्यक्ष लामाको भनाइ छ ।
पाँच वर्षभित्र खोटाङलाई लोडसेडिङ मुक्त बनाउने घोषणा गरेको जिल्ला विकास समितिले २०६३ सालमा लामाको नाममा दर्ता भएको रावाखोला हाईड्रोपावरलाई पिपिपि मोडलमा बदलेर सञ्चालन गर्ने प्रकृया थालेको हो । साँढे चार मेगावाट विद्युतले धान्न सक्ने अवस्था रहेको खोटाङमा यस्ता हाईड्रोपावर निर्माणको चर्चाले जिल्लाबासीमा नयाँ उत्साह थपिएको छ ।
आफ्नो नाममा दर्ता गरेर काम नगरी खोला ओगट्ने प्रबृत्ति बढिरहेको समयमा खोटाङको २०६७ सालमा सम्पन्न १८ औं जिल्ला परिषद्ले रावाखोला हाईड्रोपावरलाई सञ्चालन गर्ने निर्णय गरेको थियो । योजना सुरु भएको तीन वर्षपछि पूरा हुने हाईड्रोपावरबाट उत्पादित विद्युत खोटाङबाहेक छिमेकी जिल्ला ओखलढुङ्गा, उदयपुर, भोजपुर, सोलुखुम्बुलगायत जिल्लामा विद्युत खपत गर्न सकिने कम्पनीले जनाएको छ ।