पुस–७, जिल्ला अस्पताल खोटाङमा बीसीजी र एमआर खोपको अभाव भएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आईतबार गरिएको अनुगमनका क्रममा अस्पतालमा नौं महिनासम्मका बालबालिकालाई दिइने बीसीजी र एमआर खोप अभाव भएको भेटिएकाले आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले ध्यानाकर्षण भएको जनाएको हो । 
अनुगमनका क्रममा अस्पतालमा बालबालिकालाई नियमितरुपमा लगाउनुपर्ने बीसीजी खोप सकिएको र मासिक दुई सय २५ भाइल आवश्यक पर्ने एमआर खोप एक सय ३० भाइल मात्र बाँकी रहेको पाइएको आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले जानकारी दिनुभयो । तत्काल उक्त खोपको आपूर्ती नगरे बालबालिका खोपबाट बञ्चित हुने अवस्था सृर्जना भएको देखिएको घिमिरेको भनाइ छ । 
आयोगले यथाशिघ्र खोपको व्यवस्था मिलाउन र बालबालिकाको स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । खोपको अभाव हल गर्न औषधि माग गरिसकिएको अस्पतालका डा. पूजन वल्लले आयोगसमक्ष जवाफ दिएका छन् । 
आयोगले आगामी दिनमा खोपको प्रभावकारी व्यवस्था गरी बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी तथा नेपालको अन्तरिम संबिधानले प्रत्याभूत गरेको अधिकारको सम्मान गर्न भनेको छ ।