पुस-७, मोबाइल बैंकिङ सेवाप्रति खोटाङका सेवाग्राही आकर्षित भएका छन् । राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलमार्फत सञ्चालन भइरहेको मोबाइल बैंकिङ सेवाप्रति जिल्लाका सर्वसाधारण आकर्षित भएका हुन् । 
आफ्नो मोबाइलमार्फत सम्पूर्ण बैंकिङ सेवा सुबिधा लिन पाइने भएकाले मोबाइल बैंकिङ सेवाप्रति सेवाग्राहीको आकर्षण बढेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दिक्तेलका सहायक अमृत सैजूले बताउनु भयो । घरैमा बसी–बसी आफ्नो खाताको व्यालेन्स बुझ्न, बैंक स्टेटमेन्ट लिन, आफ्नो खाताबाट अन्य कुनै पनि वैंकको खातामा रकम पठाउन, मोबाइल, टेलीफोन र डिस होम रिजार्च गर्न, ब्रोडलिंक र एडीएसएल इन्टरनेटको बिल तिर्न लगायतका काम गर्न सकिने भएकाले मोबाइल बैंकिङ सेवाप्रति सेवाग्राहीको आकर्षण बढेको हो । 
मोबाइल बैंकिङ सेवामार्फत बैंकमा नपुगी बीनाचेक सबै किसिमका बैंकिङ सेवा प्राप्त गर्न सकिन्छ । चेक लिएर बैंकसम्म पुग्नुपर्ने र लाइनमा उभिरहनुपर्ने झन्झट नहुने भएकाले छिटोछरितोका लागि मोबाइल बैंकिङ सेवाको प्रभाब बढेको हो । ‘बैंकबाट पाइने सबै सुबिधा मोबाइल बैंकिङमा उपलव्ध छ,’ बैंकका सहायक सैंजूले भन्नुभयो, ‘आफ्नो खातामा बाँकी रहेको रकम र जम्मा भएको रकमका बिषयमा एसएमएसबाट तुरुन्त जानकारी लिन सकिन्छ ।’ 
हाल बैंकको शाखा कार्यालयमा दैनिक ८ देखि १० जनाले मोबाइल बैंकिङ सेवाका लागि आवेदन दिइरहेको सैंजूले जानकारी दिनुभयो । वैंकका अनुशार यस आर्थिक वर्षमात्र पाँच सय बढि सेवाग्राहीले मोबाइल बैंकिङ सेवा सुचारु गराएका छन् । 
राष्ट्रिय बाणिज्य बैंकले गत माघ–१० गतेदेखि मुलुकभरका सबै शाखा कार्यालयहरुमा मोबाइल बैंकिङ सेवा बिस्तार गरेको हो । माघ यता जिल्लाका एक हजार दुई सय बढि सेवाग्राहीले मोबाइल बैंकिङ सेवा लिइसकेका छन् ।