पुस–२६, ‘भ्वइस अफ खोटाङ’को दोश्रो अडिसन सुरु भएको छ । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, संबर्धन र बिकास गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको ‘भ्वइस अफ खोटाङ–२०७१’को दोश्रो अडिसन सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा सुरु गरिएको हो । 
दोश्रो अडिसनमा जिल्लाका बिभिन्न स्थानमा आयोजना गरिएको पहिलो अडिसनबाट छानिएका स्वरका १६५ प्रतिभाले प्रतिष्पर्धा गरिरहेका ‘भ्वइस अफ खोटाङ’ आयोजक समितिका संयोजक दिपक ठटालले बताउनु भयो । ‘भ्वइस अफ खोटाङ’को अडिसन हेर्नका लागि चार सय जनाको क्षमता रहेको समिक्षालय हल स्थानीय दर्शकले खचाखच भरिएको छ । प्रतिव्यक्ती ५० रुपैयाँ शुल्कको व्यवस्था गरिएपछि दर्शकको बाक्लो भीड लागेको आयोजकले जनाएको छ । ‘भ्वइस अफ खोटाङ’को दोश्रो अडिसन पुस–३० गते दिक्तेलमै समापन गरिने ‘भ्वइस अफ खोटाङ’ आयोजक समितिका सचिव मिलन चाहारले बताउनु भयो । 
बाक्सिला, ऐसेलुखर्क, लामीडाँडा, हलेसी, बुईपा, खोटाङबजार, दिक्तेल लगायत जिल्लाका मुख्य–मूख्य ९ केन्द्रमा सञ्चालन गरिएको पहिलो अडिसनमा सहभागी ७ सय प्रतिभामध्ये १६५ जना प्रतिभा दोश्रो अडिसनका लागि छनौट भएका थिए । ‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङको आयोजनामा ‘भ्वइस अफ खोटाङ’को आयोजना गरिएको हो । बाक्सिलाबाट गत मंसिर–२४ गते सुरु गरिएको ‘भ्वइस अफ खोटाङ’को पहिलो अडिसन पुस–१८ गते शुक्रबार राती सदरमुकाम दिक्तेलमा आएर सम्पन्न भएको थियो । 
तेश्रो अडिसनबाट छनौट गरिने स्वरका प्रथम, दोश्रो र तेश्रो बिजेतालाई नगद पुरस्कारका साथमा संगीत विद्यालयमा अध्ययन गर्ने र चलचित्रमा गीत गाउने अवशर समेत दिइने ‘भ्वइस अफ खोटाङ’का संयोजक ठटालले बताउनु भयो । ‘गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभालाई उजागर गर्दै अवशर दिने हाम्रो मूख्य उद्धेश्य हो,’ ठटालले भन्नुभयो, ‘अवशर नपाइरहेका प्रतिभाको सफलताका लागि सही तरिका र सही समय सिर्जना गर्नु हामीले हाम्रो दायित्व सम्झेका छौँ ।’