
पुस–२९, खोटाङको छितापोखरी–४ र ५ लाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । छितापोखरी–४ का ३१ र छितापोखरी–५ का २९ घरधुरीमा वाटरशील चर्पी निर्माण सम्पन्न भएपछि दुबै वडालाई संयुक्तरुपमा खुला दिशामुक्त वडा घोषणा गरिएको हो ।
‘छितापोखरीको सान, एक घर एक चर्पी हाम्रो अभियान’ भन्ने नारासहित मंगलबार नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष एबं पत्रकार खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका संयोजक दमन राई, गाबिस सचिव सोमप्रसाद आचार्य लगायतले खुला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको हो । सेल्मे नागरिक सचेतना केन्द्र र वडास्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको पहलमा वडालाई खुला दिशामुक्त घोषणा गरिएको सामाजिक परिचालक रबिना सुबेदीले बताउनुभयो ।

३९५ घरधुरी रहेको छितापोखरीलाई माघ–१५ गतेसम्ममा खुला दिशामुक्त गाबिस घोषणा गर्ने तयारी गरिएको छ । सामाजिक परिचालक सुबेदीका अनुशार गाबिसको १, ८ मा पनि चर्पी निर्माण भइसकेको छ भने, वडानम्बर २ मा चार घर, ३ मा पाँच घर, ७ मा दुई घर, ६ का ७ घर र वडानम्बर ९ मा आठ घरमा चर्पी निर्माण गर्न बाँकी छ ।