माघ–८, पश्चिम छितिजमा घाम ओर्लिरहेको थियो । प्रकृतिले हराभरा खुल्ला चउरमा साहित्य तथा गीतसंगीत उर्लिरहेको थियो । हिमाली तथा पहाडी फेरोको बीचमा अवस्थित रमणीय मभुवागढीको माहोललाई चराचुरुङगीको चिरबीरे धुनले उस्तै मीठो साथ दिएको थियो ।
खोटाङको ऐतिहासिक पर्यटकीयस्थल मझुवागढीमा जिल्लाका साहित्य तथा संगीतपे्रमीहरुको निकै ठूलो घेरो लाग्यो । तामाङ समुदायको सोनाम ल्होसारको अवसरमा बुधबार आयोजित सुन्ने –सुनाउने कार्यक्रममा जिल्लाका स्थापित तथा नब श्रष्टासर्जकहरुको जमघट भएको हो । साहित्य तथा संगीतप्रेमी युवाहरुले आयोजना गरेको सुन्ने–सुनाउने कार्यक्रममा साहित्य तथा संगीतपारखी कार्यालय प्रमुख, सुरक्षा अधिकारी, पत्रकार, कलाकार, प्राध्यापक, कर्मचारीदेखि बिद्यार्थीसम्मको सिर्जना तथा प्रस्तुती रह्यो ।
सुन्ने सनाउने कार्यक्रममा प्राध्यापक तथा साहित्यकार बेदीकुमार राई, शरण खत्री‘मृदुल’,गजलकार नबिन अभिशेष, जिल्ला हुलाक प्रमुख कोपिला थुलङ ‘आँशुतोष’, शसस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी निरीक्षक फुर्गेली शेर्पा, पत्रकार महासंघका अध्यक्ष दमन राई, रुपाकोट सामुदायिक रेडियोका स्टेसन मेनेजर टंक थापाको साहित्य सिर्जना प्रस्तुत भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका रेखा ‘क्षितिज’, शिक्षक धनिराम राई, सीता थुलुङ, बोधराज पौडेल, जीबन ज्वाला, रामधन बेदना, प्रमोद श्रेष्ठ ‘स्नेही’ युनिक साम्पाङ, युगसान तन्हाई, सबिता भुजेल, शुभचन्द्र राई, सन्जिता सन्जुलगायतका श्रष्टाहरुको गीत, गजल, कबिता, हाईकु, मुक्तक सुन्ने तथा सुनाउने क्रम चल्यो । साँझ अबेरसम्म जारी रहेको कार्यक्रमलाई गायक सचिन राई तथा अमिता राई, भक्त बिक, सुस्मिता राई, दिप्सन राई, यसकुमार राईलगायतका गीतले रौनक थपेको थियो । बाल श्रष्टाहरुको समेत प्रस्तुती रहेको सिर्जना सुन्ने सुनाउने कार्यक्रममा गुन्द्रुकको अचार, मकै भटमास जस्ता अर्गानिक खाजाले स्वादिलो बनाएको थियो । श्रष्टाहरु आफैले प्रायोजन गरेको कार्यक्रमको संयोजन अग्रज सर्जक रोशनकिशोर राईले गर्नु भएको हो ।
प्रस्तुत भएका गजल र गीत बिधाको समीक्षा खोटाङ गजल मञ्चका अध्यक्ष समेत रहेका साहित्यकार शरण खत्री‘मृदुल’ तथा कबिता, कथालगायतका अन्य बिधाको समिक्षा राष्ट्रिय बाङमय कला प्रतिष्ठान खोटाङको भाषा तथा साहित्य बिभाग प्रमुख बेदीकुमार राइले गरर्नुभयो ।