खोटाङ, साउन–१५, युद्ध टुंगिएको लामो समय बित्दा समेत घर नफर्कँदा उही बेला पत्थरमान ‘जिउँदो छैन’ भन्ने अनुमान गरिएको थियो । सोही बेला परिवारले मायाँ मार्न लागेको थियो ।
तर २००५ साल असोजमा युद्घमा छियाछिया भएपछि टालटुल पारिएको शरीर लिएर सुरक्षा गार्ड सहित पत्थरमान घर आइपुग्नुभयो ।
दोश्रो बिश्वयुद्ध चलिरहेकै बेला खोटाङ लामिडाँडाका पत्थरमान राई अरु साथीहरुसँग राती नै भागेर गल्लावाल पछ्याउँदै–पछ्याउँदै भर्ती हुन जानुभयो । १९ वर्षको उमेरमा बि.सं. १९९९ सालमा भर्ती हुनुभएका राईले दोश्रो बिश्वयुद्धमा जापानी सेनाविरुद्ध बहादुरीपुर्वक लड्नु भयो । पल्टन नम्बर टेनजिआर १०९९९६ भएका राई घाईते अवस्थाका जापानी सेनाले प्रहार गरेको ग्रिनेटले लाग्दा गम्भीर घाईते हुनुभएको थियो ।
ग्रिनेटको छर्राले उहाँको शरीर छिया–छिया बनेको थियो । ग्रिनेटले चिउँडो उडायो । देब्रे हातको चोर औंला चुँडियो, दायाँ हातको पाखुरामा छर्रा लाग्दा नशामा असर पुगेकाले सबै औंला बाङ्गिएको थियो ।
घाईते भएपछि युद्ध मैदानबाट उपचारमा लगिएका राईको अस्पतालमै ४ वर्ष ६ महिना बितेको थियो । अस्पतालमा लगिएका राईको ग्रिनेटले चुँडाएको चिउँडोमा टाउकाको छाला काटेर दारी बनाइए । १८ ठाउँमा शल्याक्रिया गरिए । शरीरकै छाला काटेर ओठका रुपमा टाँसिए । नक्कली दाँत हालिए । छियाछिया शरीर टालटुल गरियो ।
२००२ सालमा जापानले आत्मसमर्पण गरेपछि दोश्रो बिश्व युद्ध टुंगिएको केही वर्षसम्म पत्थरमानले अस्पतालको बेडमै बिताउनुभएको थियो । युद्धबाट फर्किएर बिवाह गर्नुभएका राईको ६ बहिनी छोरी र १ भाई छोरा हुनुहुन्छ ।
दोश्रो बिश्वयुद्धमा बहादुरी देखाई बाँचेर आउनुभएका पत्थरमान गाउँको अभिभावकको रुपमा रहनुभयो । सानातिना बिहेकार्जेदेखि लिएर सबै कुरामा उहाँको आवश्यक्ता र उपस्थिती रहन्थ्यो । सबैको मान्यवरको रुपमा उहाँ रहनुभयो । सबैको सम्मान पाईरहनुभयो । सबैको भलो चिताउने उहाँ कहीँ कुनै कसैको काम गर्न पनि गाह्रो मान्नुभएन ।
उनै खोटाङ रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका ऐतिहासिक तथा उदाहरणीय ब्यक्तित्व पत्थरमान राईको निधन भएको छ । बि.सं. २००० सालमा दोश्रो बिश्वयुद्ध लडेका राईको ९५ वर्षको उमेरमा सोमबार मृत्यु भएको हो ।
अपच हुने समस्या भएपछि असार २५ गते उपचारका लागि काठ्माण्डौं लगिएका दोश्रो बिश्वयुद्धका योद्धा राईको घर ल्याउनेक्रममा घुर्मीमा मृत्यु भएको हो । हप्ता दिन अस्पतालमा राखेपछि डिस्चार्ज पाएका राईले घर फर्कने ईच्छा देखाएपछि घर फर्काउने क्रममा बाटैमा निधन भएको आफन्त पदम थुलुङले बताउनुभयो । बाबु गजवसिं राई र आमा सरिमायाँको कोखबाट बि.सं. १९८० साल माघ २ गते जन्मिएका राईको मंगलबार गाउँमा अन्तिम दाह संस्कार गरिएको छ ।
उहाँको जीवनीमा आधारित रहेर बृत्तचित्र निर्माणको तयारी गरिएको आफन्तले जनाएका छन् ।