माघ–१४, ‘भ्वइस अफ खोटाङ’को चौथो अडिसनका लागि २७ प्रतियोगी छानिएका छन् । आगामी फागुन–२ र ३ गते सदरमुकाम दिक्तेलमा आयोजना गरिने चौथो अडिसनका लागि तेश्रो अडिसनबाट २७ प्रतियोगी छनौट भएको ‘भ्वइस अफ खोटाङ’ आयोजक समितिका संयोजक दिपक ठटालले जानकारी दिनुभयो । गत मंसिर–२४ गते सुरु गरिएको ‘भ्वइस अफ खोटाङ’को तेश्रो अडिसन मंगलबार राती कुमारी चलचित्र हल दिक्तेलमा सम्पन्न भएको थियो । तेश्रो अडिसनमा सहभागी ५७ प्रतिभामध्येबाट उनीहरुलाई छानिएको हो । 
गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, संबर्धन र बिकास गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको ‘भ्वइस अफ खोटाङ–२०७१’मा सहभागी जिल्लाका ७ सय प्रतिभामध्येबाट तेश्रो अडिसनसम्म आइपुग्दा २७ जनाले चौथो अडिसनका लागि प्रबेश पाएको आयोजकले जनाएको छ । ‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसन फागुन–२३ गते दिक्तेलमै गरिने संयोजक ठटालले बताउनुभयो । 
‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसनबाट छनौट गरिने स्वरका प्रथम, दोश्रो र तेश्रो बिजेतालाई नगद पुरस्कारका साथमा संगीत विद्यालयमा अध्यायन गर्ने र चलचित्रमा गीत गाउने अवशर समेत दिइने आयोजकले बताएको छ । ‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङको आयोजनामा ‘भ्वइस अफ खोटाङ’को आयोजना गरिएको हो ।