माघ–१८, व्यवस्थित भवनको अभावमा उपस्वास्थ्यचौकी चिप्रिङको गर्भवती गराउने ‘डेलीभरी बेड’ प्रयोग बिहिन बनेको छ । उपयुक्त ठाउँको अभावमा डेलीभरी बेडलाई उपस्वास्थ्यचौकीको एउटा साँघुरो कोठामा राखिएको छ । भवनको अभावमा गर्भवती र अन्य बिरामीलाई एउटै कोठामा राखेर उपचार गर्ने गरिएको उप–स्वास्थ्यचौकी चिप्रिङका सिनियर अनमि उर्मिला राईले बताउनु भयो । बिद्युतको अभावमा गर्भवती महिलाका लागि प्रयोग गरिने सामान निर्मलीकरण गर्ने अटोक्लेप नामक उपकरण पनि प्रयोग बिहिन छ ।
जीर्ण उपस्वास्थ्यचौकीको स्टोरमा राखिएको औषधि देखाउँदै सिनियर अनमि उर्मिला राई । |
स्थानीय बिष्णु राईले निशुल्क दिएको जग्गामा २०४९ सालमा निर्माण गरिएको भवनको स्टोर कोठा, बैठक कक्ष र डेलीभरी कोठा अलग–अलग भएपनि गर्भवतीलाई उपस्वास्थ्यचौकीमा छुट्टै ठाउँमा जाँच गर्ने व्यवस्था मिलाइएको छैन । ‘उपयुक्त कोठा नभएपछि गर्भवती र अन्य प्रकृतिका बिरामीलाई उउटै कोठामा चेक गर्दैआएका छौँ,’ सिनियर अनमि राईले भन्नुभयो, ‘खासमा गोप्य तरिकाले गर्भवतीको जाँच गर्ने व्यवस्था हुनुपर्ने हो ।’ उप–स्वास्थ्यचौकीको भवन समेत जिर्ण बन्दैगएको छ । उप–स्वास्थ्यचौकीको ढोकालाई अड्याउने दायाँबायाँको पर्खालको ढुंगामाटो भत्किएर झर्न थालेको छ ।
नयाँ भवन बनाउनका लागि पटक–पटक आवाज उठाइएपनि सुनुवाइ नभएको सिनियर अनमि राईको गुनासो छ ।