
माघ–२०, नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले ‘प्रकृया’ भन्ने बित्तिकै सिस्नुले पोले जस्तै तर्सिनुपर्ने कारण नभएको बताउनुभएको छ । सगरमाथा जनसेवा समाज नेपाल अर्खौलेको आयोजनामा खोटाङको अर्खौलेमा सुरु भएको पाँच दिने ‘नमस्ते खोटाङ–२०७१’को मंगलबार उद्घाटन गर्दै उपाध्यक्ष भण्डारीले संविधानसभा र निर्वाचन पनि स्वयं एउटा प्रकृया भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “दुई जना सभाषदले मात्र फरक मत राखे भने पनि प्रकृयामा जानै पर्छ, ६०१ ले नै समहती गरेपनि प्रकृयामा जानुपर्छ, त्यही भएर प्रकृया भन्ने बित्तिकै सिस्नुले पोलेजस्तै उफ्रनुपर्ने कुनै कारण छैन ।”
हाल संविधानसभामा बनेको सत्ता गठबन्धनले शान्ति र स्थिरता कायम गर्दै देशलाई स्थितरता र अग्रगती दिन चाहेको भण्डारीले बताउनुभयो । संविधान निर्माणका लागि वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै भण्डारीले सहमतीमा नयाँ लोकतान्त्रिक संविधान निर्माण गर्न अफूहरु अहोरात्र खटिएको उल्लेख गर्नुभयो ।
उपाध्यक्ष भण्डारीले दुई तिहाइ बहुमत नभएसम्म मुलुकले संविधान नपाउने भएकाले कांग्रेस एमाले लगायत अन्य दल मिलेर संविधान बनाउनुपर्नेमा जोड दिनुभयो । संविधानमा समेट्नुपर्ने विषयवस्तु स्पष्ट भएकाले यसका विषयमा विवाद गर्नुपर्ने आवश्यकता नभएको भण्डारीको भनाइ थियो ।
देशको धार्मिक स्वतन्त्रता, संघीयता, गणतन्त्र लगायतमा प्रतिकुल असर नपर्नेगरी संविधान जारी गरिने उपाध्यक्ष भण्डारीले बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान निर्माणमा निहु खोजेर हिँड्नुपर्ने कारण नभएको उहाँको स्पष्तोक्ती थियो ।
संविधान निर्माणको विषयमा कुनै व्यवधान नभएको बताउँदै भण्डारीले सहमती र वार्ता गर्न संविधानसभामा रातो कार्पेट ओछ्याइएको बताउनुभयो । उहाँले भन्न्भयो, “सहमतीको सरकार बनाउन आउनुस्, सरकारमा सामेल हुनुस् भनिरहेका छौँ, जनताले शान्ति चाहेको छ, संविधान चाहेको छ, तर केही दल र नेताहरुमा हिंसाको गन्ध गएको छैन, शान्ति र बिकासको कुरा गर्नु पर्नेबेलामा रगतको खोलो बगाउने खेल भइरहेको छ ।”
भण्डारीले राजनैतिक अस्थितरता र अशान्तिका कारण मुलुकको विकास र परिवर्तन हुन नसकेको औंल्याउनुभयो ।
जिल्लाको विकास र पर्यटन प्रवर्धनका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उर्जामन्त्री राधा ज्ञवालीले आगामी तीन वर्षभित्र मुलुकको लोडसेडिङ अन्त्या गर्न पहल गर्ने बताउनुभयो । खोटाङको रभुवास्थित दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको निरीक्षण गरेपछि अर्खौलेमा आयोजित कार्यक्रममा आउनुभएकी मन्त्री ज्ञवालीले अकूत बिजुली उत्पादन गर्दै उज्यालो र सम्वृद्ध नेपाल बनाउने योजना सुनाउनुभयो ।
देशमा दुईदेखि तीन लाख मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना भएपनि देशको गरिबीका कारण अपेक्षित प्रगती गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले सडक, पुल लगायतका भौतिक पुर्वाधारको विकास नभएका कारण मुलुकमा अपेक्षा गरेअनुसार विद्युत उत्पादन गर्न नसकिएको बताउनुभयो ।
लुकेर रहेका प्रतिभाको खोज, लोपोन्मुख कला संस्कृतिको जगेर्ना तथा हलेसी, तुवाचुङ, रुपाकोट, टेम्के, बराहपोखरी लगायतका स्थलको पर्यटन प्रवर्धनका लागि सगरमाथा जनसेवा समाज नेपाल अर्खौलेको आयोजनामा अर्खौलेको सालपाचौंरमा हप्ता दिनसम्म सञ्चालन हुने कार्यक्रममा जिल्लाव्यापी खुल्ला भलिबल प्रतियोगीता, विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता विभिन्न भेषभुषा, कलासंस्कृति र पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक तथा हाँस्यव्याङ्ग्य प्रहसन, नेवार समुदायको लाखे, राई समुदायको साकेला, विभिन्न जातीय झाँकी प्रदर्शन लगायतका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।