माघ–२७, हाँस्य टेलीश्रृंखला ‘भद्रगोल’का कलाकारहरुले खोटाङका युवाहरुलाई विदेश पलायन नहुन संकेत गर्दै जिल्लाकै विकासमा लाग्न सन्देश दिएका छन् । कुमार कट्टेल (जिक्री), अर्जुन घिमिरे (पाँडे) तथा सुवास कार्की (बेलासे)ले संयुक्त हाँस्य प्रस्तुतीमार्फत जिल्लाको पर्यटन प्रवर्धन, सँस्कृति संरक्षण तथा समग्र विकासको लागि युवाको खाँचो रहेको संकेत गर्दे यस्तो सन्देश दिएका हुन् । 
खोटाङको विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजित ६ दिने महोत्सब ‘नमस्ते खोटाङ’ को समापनमा पहिलो पटक जिल्ला ल्याइएको टेलीश्रृंखालाका कलाकारहरुको प्रस्तुतीमा हजारौं जिल्लाबासी झुम्मिएका थिए । हाँस्य प्रस्तुतीमा देशलाई भ्रष्टचारले बिगारेकोप्रति कडा ब्यङ्ग्य गर्दै त्यस्ता भ्रष्टहरुलाई गलहत्याउँदै समाज निर्माणमा लाग्नुपर्ने सन्देश थियो ।
जिल्लामा जन्मी देशविदेशमा ख्याति कमाउन सफल कलाकारहरुलाई उल्लेख्य रुपमा उपस्थित गराउन सफल कार्यक्रमको समापनको केन्द्रबिन्दु भने महानायक राजेश हमाल थिए । देशका चर्चित कलाकारहरुलाई हेर्न अर्खौलेको साल्पाचौर पुगेका खोटाङ र छिमेकी जिल्लाका दर्शकबीच प्रमुख अतिथि हमालले खोटाङ कला, संस्कृति तथा पर्यटनको खानी रहेको उल्लेख गर्नुभयो ।
दर्शकदीर्घामा रहेका वृद्धाहरु भन्दैथिए– “छोरो हुनु त यस्तो पो हुनु, उसैलाई हेर्न यत्रो हजारौंको भीड ।” कसैले थप्दै थिए–“कसैले त जन्माउँदो रै’छ ।” 
सय रुपैयाँको टिकट किनेर लामाचौर पसेका कलाप्रेमीहरु हेलिकोप्टरबाट हमाल झर्नसाथ त्यतै झुम्मिदाँ स्टेजसम्म पु¥याउन कठिन परेको थियो । लुकेर रहेका प्रतिभाको खोज, लोपोन्मुख कला संस्कृतिको जगेर्ना तथा हलेसी, तुवाचुङ, रुपाकोट, टेम्के, बराहपोखरी लगायतका स्थलको पर्यटन प्रबद्र्धनका लागि सगरमाथा जनसेवा समाज नेपाल अर्खौलेले आयोजना गरेको कार्यक्रम हालै समापन भएको कार्यक्रममा चर्चित गायक धिरज राई अर्को आकर्षण बनेको थियो । राईले बाल्यकालको सम्झना तथा आफ्नो जन्मभूमि विजयखर्क तथा बाक्लिमबासीलाई सम्बोधन गर्दै गीत प्रस्तुत गर्नुभयो ।
गायिकाहरु पार्वती राई, सरला राई, आशा लामा, गायकहरु रेवत राई, सचिन राईलगायत स्थानीय कलाकारहरुको प्रस्तुतीले ६ दिने बृहत कार्यक्रमभर रौनक दिएको थियो । एमाले उपाध्यक्ष विद्या भण्डारी तथा उर्जामन्त्री राधा ज्ञावलीद्वारा माघ २० गते उद्घाटित कार्यक्रमको समापनमा गीतकार राजन राई, गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष दिपनारायण रिजालल, सुरक्षा अधिकारीलगायतको उपस्थिति थियो । 
राईका साकेला, नेवारका लाखेलगायतका साँस्कृतिक झाँकी तथा जिल्लाका पर्यटन तथा संस्कृति झल्कने गीतमा नृत्यहरु समेत प्रस्तुत भएको कार्यक्रममा जिल्लाका पर्यटन तथा संस्कृति झल्कने फोटो प्रदर्शनी पनि भएको थियो । ओझेलमा परिरहेका खोटाङको पर्यटकीय क्षेत्र र सुन्दरताको प्रचार–प्रसार गर्दै खोटाङलाई गन्तव्यकारुपमा बिकास गर्नका लागि ‘नमस्ते खोटाङ–२०७१’ आयोजना गरिएको आयोजक संस्थाका प्रमोद श्रेष्ठले जानकारी दिनुभयो । 
कराँते काँटा, जिम्नास्टिक प्रदर्शनी जस्ता खेल प्रदर्शनी गरिएको महोत्सबको प्रतियोगिता तर्फको भलिबलमा खोटाङ स्र्पोटस् क्लव विजयी बनेको छ । हालसम्मकै जिल्लाको ठुलो राशीको पुरस्कार रहेको प्रतियोगिताको दोश्रो तथा तेश्रो क्रमशः दोर्पा चिउरीडाडाँ गाविस र सल्ले गाविस बनेको आयोजकले जनाएको छ । 
‘नमस्ते खोटाङ’ कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइने कार्यक्रम संयोजक प्रकाश पुरीले जानकारी दिनुभयो ।