खोटाङ, फगुन । आगलागीबाट घरबिहिन बनेका खोटाङ देबिस्थान–१ का प्रकाशपुष्पक राईलाई एक लाख ३० हजार एक सय रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।
भान्छा घरबाट सल्किएको आगोले दुई वटा घर र सम्पूर्ण सामान जलेका राईलाई हाल इजरायल, मलेसिया लगायतका देशमा बसिरहेका नेपालीबाट एक लाख बढि आर्थिक सहयोग प्राप्त भएको हो । हाल मलेसियामा रहेका अग्नीपिडित राईलाई राजधानी क्वालालम्पुरमा एक कार्यक्रम गरी सहयोग रकम प्रदान गरिएको मलेसियाबाट चिसाङ शेर्पाले जानकारी दिए ।
राईको सहयोगको लागि मलेसियाबाट ८० हजार १०८, ईजरायलबाट ३७ हजार ७५० तथा अन्य देशबाट १२ हजार २४२ रुपैया रकम संकलन भएको थियो । बिचल्नीमा परेका राई परिवारको दैनिक जीवनयापनमा सहजताका लागि हाल मलेसियामा कार्यरत खोटाङका प्रदीप राईको पहलमा अग्नीपिडित राईको सहयोगार्थ रकम संकलन गरिएको शेर्पाले जनाए ।
गत माघ–११ गते भएको आगलागीमा दुई वटै घर, एक थान कम्प्युटर, एक थान टेलिभिजन, सोलार, मोबाईल लत्ताकपडा, भाडाकुडा नष्ट भएपछि पिडित परिवार हाल अस्थाई टहरा बनाएर बसिरहेका छन् । आगलागीबाट राईको करिब २० लाखको क्षतीभएको अनमान गरिएको छ ।