फागुन–९, नेपाल सितोरियो कराते संघ खोटाङले ऐतिहासक ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०७२’ गर्ने तयारी गरेको छ । खेल सँस्कृतिको बिकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले संघले आगामी बैशाख–१ गतेदेखि प्रतियोगता गर्ने तयारी गरेको हो ।
सदरमुकाम दिक्तेलस्थित माटीकोरे खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने समूहले क्रमशः एक लाख, ७० हजार, ४० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ठ मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ठ टिम कोच, उत्कृष्ट टिक व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई दश÷दश हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष सञ्जयकुमार राईले बताए ।
प्रतियोगीताका लागि प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको संयोजकत्वमा प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मुल आयोजक समिति गठन गरिएको छ । करिब ३५ लाखको लागतमा सम्पन्न गर्ने गरी आयोजना गरिने प्रतियोगिता सफल पार्नका लागि जिल्लास्थित सरकारी तथा गैंर’सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु उपसमितिमा समेटिएका छन् ।
चन्दा संकलनबाट आयोजना गरिने प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विश्व विद्यालय तथा भारत, भुटान, बंलगलादेश र श्रीलङ्काको सहभागिता रहने आयोजकले जनाएको छ । १८ समूहको सहभागिता रहने प्रतियोगितामा चार सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
७६ पदक संख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ । प्रतियोगितामा पुरुष एकल काता र महिला एकल काता तथा पुरुष टिम काता र महिला टिम कातामा तीन÷तीन जनाको समूह रहने राईले जनाए । प्रतियोगीताकालागि आर्थिक श्रोत जुटाउन चलचित्र निर्देशक तथा नायक नवल खड्काले चलचित्र ‘भिमदत्त’को च्यारिटि शो दिने भएको संघले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ४५, ५०, ५५, ६५, ६७, ७५, ८४ र ८४ केजी भन्दामाथि तथा महिलातर्फ ४०, ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीभन्दा माथि प्रतिस्पर्धा गराइने छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न जातजातिको संस्कृति झल्कने साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिने संघका उपाध्यक्ष मिलन कसजुले जानकारी दिए ।
संघले प्रतियोगिताका लागि दश लाख बराबरको म्याट (तातामी) तथा आवश्यक खेल सामाग्री जुटाइसकेको छ । विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलन गरिएको चन्दाबाट खेल सामाग्री खरिद गरिएको संघले जनाएको छ ।