
खोटाङ, फागुन ११ – खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र लयालु चयन भएका छन् । सदरमुकाम दिक्तेलमा सोमबार सम्पन्न संघको सातौं साधारणसभा तथा अधिवेशनबाट लयालु अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
३१ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा उपिनकुमार राई, प्रथम उपाध्यक्षमा रोहितकुमार सैंजू, द्धितीय उपाध्यक्षमा ज्ञानेन्द्र जोशी र तृतीय उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ, महासचिवमा समुन्द्रप्रसाद जोशी तथा तीन सचिवमा ध्रुवकुमार श्रेष्ठ, मनोज बजिमय र वुद्धिविनोद लुईटेल छानिएका छन् । वाणिज्य तथा आपूर्तीमन्त्री सुनिलबहादुर थापाले आईतबार उद्घाटन गरेको अधिवेशनले कोषाध्यक्षमा छत्रकुमार बजिमय र सहकोषाध्यक्षमा सुमन श्रेष्ठलाई चयन गरेको छ । जिल्लाको इतिहासमै पहिलोपल्ट सर्वसहमतीमा बाणिज्य संघको कार्यसमिति गठन गरिएको हो ।
दलीय भागबण्डामा कांग्रेसकातर्फबाट आठ, एमालेका नौं, एमाओवादी सात र साना दलका चार जनालाई संघको नयाँ समितिमा समाबेश गरिएकोे छ । मुख्य पदाधिकारीमा कांग्रेसले पाँच, एमालेले र एमाओबादीले तीन/तीन सिट पाएका छन् ।
संघमा ज्ञानेन्द्र जोशी, प्रकाशकुमार श्रेष्ठ, समुन्दप्रसाद्र जोशी, वुद्धिविनोद लुईटेल र छत्रकुमार बजिमय कांग्रेसकातर्फबाट, राजेन्द्र लयालु, उपिनकुमार राई र ध्रुबकुमार श्रेष्ठ एमालेको कोटाबाट तथा रोहित सैंजू, मनोज बजिमय र सुमन श्रेष्ठ एमाओवादीको कोटाबाट संघमा छानिएका हुन् । तीन सदस्य पछि थप गरिने जनाइएको छ ।