फागुन–११, विभिन्न शिक्षक संगठनको दवावपछि जिल्लामा कार्यरत शिक्षकहरुको तलब निकासा भएको छ । जिल्लामा क्रियाशिल ६ वटा शिक्षक संगठनले जिल्ला शिक्षा अधिकारीको ध्यानाकर्षण गराएपछि तलब निकासा भएको हो । 
मासिक तलब भुक्तानीको माग गर्दै आएका शिक्षकहरुले चौमासिक रुपमा पाउँदै आएको तलब पनि समयमा नपाएको भन्दै सोमबार जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएका थिए । चौमासिक रुपमा माघ मसान्त भित्रमा भुक्तानी हुनुपर्ने तलब फागुन दोश्रो हप्ता बित्न लाग्दा पनि निकासा नभएको भन्दै शिक्षक संगठनले जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको थियो । 
शिक्षकहरुको ध्यानाकर्षणपछि जिल्लामा कार्यरत सबै तहका शिक्षकको तलब सोमबारै निकासा गरेको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष शिवहरी ढकालले बताउनु भयो । शिक्षकहरुको बढेको तलब पनि भुक्तानी गर्नुपर्ने भएकाले निकासामा केहि ढिला भएको जिशिअ भट्टराईले बताउदै आउनुभएको थियो । 
जिल्लामा प्रावितहमा एक हजार एक सय ४६, राहत तीन सय २०, निमावि दुई सय १२ र राहत एक सय ४८ तथा मावि दरबन्दीमा एक सय ४४ र राहतमा एक सय २५ गरि दुई हजार ९५ शिक्षक कार्यरत छन् । उनीहरुका लागि प्रत्येक चौमासिकमा १८ करोड ५० लाख ५० हजार निकासा हुने कार्यालयले जनाएको छ ।