फागुन–१६ । जिल्लामा आयोजना गरिएको आधारभूत पत्रकाररिता सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
बालसेवा समाज नेपाल नेर्पाको साझेदारीमा सञ्चालित स्थानीय सरकारकोे जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजीपी)ले जिल्लाको २० गाविसका महिलाहरुलाई सहभागी गराएर दिएको तालिम सम्पन्न भएको हो ।
परियोजना सञ्चालन गरिएका गाविसमा पत्रकार उत्पादन गर्ने र पत्रकारिताको माध्यमबाट सामाजिक जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको परियोजनाका स्थानीय सुशासन अधिकृत युवराज रिजालले जानारी दिनुभयो । रिजालका अनुसार तालिममा वडा नागरिक मञ्च र सचेतना केन्द्रबाट सिफारिस भएर आएका दलित, जनजाति र पिछाडि पारिएका समुदायका महिलाहरु सहभागी थिए ।
दिक्तेलस्थित बालसेवा समाजको तालिम हलमा आयोजित दुई दिने तालिममा सहभागीलाई सञ्चार, पत्रकारिता, समाचार, संकलन, लेखन, आचासंहिता लगायतका विषयमा आधारभुत जानकारी दिइएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, सहसचिव केदार मगर, सदस्य रामधन राई र खोटाङ खबर साप्ताहिकका सम्पादक दिलीप खत्रीले तालिममा सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहभागी महिलाहरु सबै विवाहित छन् । स्थायित्व र नियमितताका लागि विवाहित महिलाहरु सहभागी गराइएको अर्का स्थानीय सुशासन अधिकृत अरुणा दाहालले जानकारी दिनुभयो ।
यसअघि पहिलो चरणमा २५ गाविसका महिलाहरुलाई तालिम दिइएको थियो । बालसेवाले सञ्चालनको जिम्मा लिएको परियोजना पहिलो चरणमा जिल्लाका ४५ गाविसमा सञ्चालन भएको छ ।