साउन–२३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक नम्बर प्रदेशको नाम ‘किरात प्रदेश’ हुनुमा बिशेष अर्थ र महत्व हुने बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित किरात राई यायोक्खाको ३१ औं स्थापना दिवसको अवसरमा बोल्दै ‘किरात’ शब्द सिंगो नेपालको सभ्यतासँग जोडिएकोले पनि यसको विशिष्ट अर्थ र महत्व रहने बताउनुभएको हो । 
ललितपुरको मानभवनमा आयोजित कार्यक्रममा उहाँले किराती इतिहास र सभ्यताको बिशेष महत्व रहेको भन्दै एक नम्बर प्रदेशको नाम कुनै पनि हालतमा किरात प्रदेश रहने स्पष्ट पार्नुभयो ।  क्रिस्टल पार्टी प्यालेसमा आयोजित ‘ एक नम्बर प्रदेश किरात प्रदेश विषयक विचार गोष्ठिमा किरात प्रदेश नाम राख्ने विषयमा कसैले जातिवादको संज्ञा दिएमा त्यो भन्दा मुर्ख मानिस कोही नहुने समेत प्रचण्डको भनाई राख्नुभयो ।
नेकपाका अर्का अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत किरात प्रदेश नामाकरणबारे आफूले सल्लाह गरेको र नाम किरात राख्ने विषयमा दुवैको सोंच मिलेको खुलासा गर्नुभयो । 
एक नम्बर प्रदेशको नाम किरात नै राख्नुपर्ने बिषयमा पार्टी र सरकारमा छलफल गरिरहेको भन्दै जातीवादको कुरा ल्याएमा भने त्योभन्दा ठूलो भुल अरु नहुने उहाँले जनाउनुभयो । किरातलाई एउटा इतिहास र सभ्यताको रुपमा, जीवनप्रणालीको रुपमा स्वीकार गर्दा त्यसको सन्देश देशभरि जाने उहाँको धारणा छ । उहाँले एक नम्बर प्रदेशलाई किरात नामाकरण नबनाउन कोही लागेमा आफू जीवनभर किरातकै लागि लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
किरात राई यायोक्खाले एक नम्बर प्रदेशलाई इतिहास, सभ्यता र संस्कृतिको आधारमा किरात प्रदेश नामाकरण गर्नुपर्ने भन्दै दबाब सिर्जना गर्दै आएको छ ।