फागुन–१९, खोटाङको पर्यटकीयस्थल हलेसी र दुर्छिमको चुमाखु भञ्ज्याङ जोड्ने सडक निर्माणका लागि एकै जना दाताबाट ३ लाख चन्दा प्राप्त भएको छ । दुर्छिमबाट पर्यटकीय तथा धार्मिकस्थल हलेसी जोड्ने सडक निर्माणका लागि दुर्छिमका स्थानीय समाजसेबी जनकराज राईले ३ लाख चन्दा दिनु भएको हो । हाल राजधानीमा बसोबास गर्दैआउनु भएका पुर्वशिक्षक राईले यसअघि दुर्छिमस्थित ‘होलेसुङ–जनकराज मार्ग’ निर्माणका लागि १० लाख ३४ हजार २३७ रुपैयाँ चन्दा दिनुभएको थियो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दुर्छिम–१ छापडाँडाको बरभञ्ज्याङदेखि साल्तेम्मा, चुमाखु, हात्तीढुंगा, गणेशटार, वानाम्ला हुँदै सुनकोशी किनारको बतासेघाट जोड्ने ‘होलेसुङ–जनकराज मार्ग’ निर्माणकाक्रममा सबैभन्दा बढि चन्दा दिएका राईले पुःन हलेसी र चुमाखुभञ्ज्याङ जोड्ने सडक निर्माणका लागि चन्दा दिएको स्थानीय शिक्षक इच्छाराम राईले जानकारी दिनुभयो ।
हलेसी–५ स्थित लाँकुरी भञ्ज्याङबाट दुर्छिम–३ जोड्ने २ किलोमिटर ४ सय मिटर लामो सडक फागुन मसान्तपछि निर्माण सुरु गरिने निर्माण समितिले जनाएको छ । ‘होलेसुङ–जनकराज मार्ग’को शाखाकोरुपमा अर्को सडक निर्माण गर्न लागिएको निर्माण समितिले जनाएको छ । सडक स्क्याभेटरको प्रयोग गरी निर्माण गर्ने तयारी गरिएको छ ।
खोटाङबाहेक उदयपुरको बासबोटे, बलम्ता, ताम्लिछा, ठानागाउँ, बाराहा लागायतका सर्वसाधारण लाभान्बित हुने यो सडक हलेसी आउन र जानकालागि समेत उपयोगी हुने स्थानीय युवा तामन राईले बताउनु भयो ।