फागुन–२०, कतारमा सम्झौता अनुसारको तलव नपाएपछि स्वदेश फर्किएका एक नेपालीले मेनपावरबाट क्षतीपूर्ती लिएका छन् । स्काफोल्डिङको कामकालागि मासिक १४ सय रियल पारिश्रमिक पाउने शर्तमा कतार पुगेका खोटाङको बाँझेच्यानडाँडा–५ का प्रजाकुमार भुजेलले स्वदेश फर्किएर मेनपावरबाट क्षतीपूर्ती लिनुभएको हो । सम्झौता अनुसारको तलव नपाएपछि तीन महिनामै स्वदेश फर्किनुभएका भुजेलले कतार पठाउने परदेशी मेनपावरबाट कतार जानेक्रममा लागेको सबै खर्च फिर्ता लिएको बताउनुभयो ।
कतारमा सम्झौता भन्दा कम तलव पाएपछि स्वदेश फर्किएर मेनपावरबाट क्षतीपुर्ती लिन सफल प्रजाकुमार भुजेल । |
कम्पनीले सम्झौताभन्दा मासिक ४ सय रियल कम तलव दिने बताएपछि आफन्तमार्फत दिक्तेलस्थित सुरक्षित आप्रबासन परियोजना सुुचना केन्द्रमा निबेदन दिनुभएका भुजेलले नेपाल फर्किएर कतार पठाउने मेनपावरबाट क्षतीपूर्ती स्वरुप ६० हजार रकम फिर्ता लिनुभएको सूचना केन्द्र दिक्तेलका परामर्शकर्ता सहरमान राईले बताउनुभयो ।
कम्पनीले सम्झौता विपरित कम तलव दिएर ठगी गरेको भन्दै भुजेलले सुचना केन्द्रमार्फत पिपुुल्स फोरमको सहयोगमा बैदेसिक रोजगार बिभाग समक्ष उजुरी दर्ता गराएर क्षतीपूर्तीका लागि दाबी गर्नुभएको थियो । उजुरी परेपछि बिभागले भुजेललाई नेपाल नल्याएसम्मका लागि मेनपावरको काम रोक्का गरिदिएपछि परदेशी मेनपावर भुजेललाई स्वदेश फर्काउन बाध्य बनेको सुचना केन्द्रले जनाएको छ । कम्पनीबाट सम्झौताभन्दा कम तलव पाएपछि भुजेल पुस–१३ गते स्वदेश फर्किनु भएको थियो ।