
फागुन–२२, सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्लामा वैदेसिक रोजगार सम्बन्धी सडक नाटक प्रदर्शन सुरु गरेको छ । वैदेसिक रोजगारलाई सुरक्षित, उपलब्धीमूलक र भरपर्दो बनाउन सचेतना फैलाउने उद्देश्यले परियोजनाले ‘कथा विदेशको’ नामक सडक नाटक प्रदर्शन सुरु गरेको हो ।
जिल्लाको हौंचुर, जालपा, माक्पा, ऐसेलुखर्क, ज्यामिरे, महेश्वरी, जलेश्वरी, राखावाङ्देल, बाक्सिला, सप्तेश्वर, खार्मी लगायतका गाविसमा नाटक प्रदर्शन गरिने सामीले जनाएको छ । शुक्रबारबाट सुरु गरिएको सडक नाटकमा वैदेसिक रोजगारमा जानुअघि सिक्नु पर्ने सीप, पैसा दिएपछि भर्पाई लिन नभुल्न, भाषा सिकेर मात्र विदेश जान, विदेश जानुअघि आवश्यक कागजातको प्रतिलिपी घरमा छाड्न र एकप्रति साथमा सुरक्षित राख्नुपर्ने लगायतका सन्देशहरु समेटिएको परियोजनाका कार्यक्रम अधिकृत रमेश राईले जानकारी दिनुभयो । परियोजनाका संयोजक राईले भन्नुभयो,–‘हामी सडक नाटकमा माध्यामबाट युवायुवतीलाई सकेसम्म स्वदेशमै रोजगारी गरौँ भन्छौँ, यदि विदेश जाने नै भए सीप र तालिम सिकेर तथा जानकारी लिएर मात्र विदेश जान प्रोत्साहित गर्छौँ ।’
सडक नाटकमा स्थानीय कलाकारहरु योगिन राई, सञ्जीप राई, प्रकाश रिजाल, लक्ष्मण राई, कवि राई, राजेन्द्र ढुङ्गाना, ममता राई, यशोधा राई, जमुना राई र अंकीता राईले अभिनय गरेका छन् । सडक नाटक शिल्पी थ्रियटर काठमाडौंका प्रशिक्षकद्धय जीवन बराल र किरण चाम्लिङले प्रशिक्षण दिएका थिए ।