फागुन–२३, पेशागत सुरक्षाका लागि खोटाङमा कार्यरत उच्च माबि शिक्षकले संघर्षको तयारी गरेका छन् । उच्च माबि तहलाई सरकार मातहतमा ल्याउनुपर्ने, शिक्षा ऐन संशोधन गरी उच्च माध्यमिक शिक्षकको व्यवस्था गरिनुपर्ने, शैक्षिक सुधार लगायतका माग पूरा गर्नकालागि उच्च माबि तहका पुर्णकालिन शिक्षकले मोफसलबाटै संघर्षको तयारी गरेको बताएका छन् । 
यसकालागि जिल्लामा कार्यरत उच्च माबि शिक्षक संघर्ष समितिको प्रथम जिल्ला सम्मेलन शनिबार सदरमुकाम दिक्तेलमा सम्पन्न भएको छ । सरस्वति उच्च माबिको हलमा भएको उच्च माबि तहका पुर्णकालिन शिक्षकको भेलाले रोहित दुलालको अध्यक्षतामा ११ सदस्यीय उच्च माबि शिक्षक संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिको उपाध्यक्षमा पुष्पादेबी राई, सचिवमा रुपेश राई, सह–सचिवमा मोहन कोइराला र कोषाध्यक्षमा मुकुन्दप्रसाद घिमिरे चयन भएका छन् । 
उच्च माबि तहका पुर्णकालिन शिक्षकको पेशागत सुरक्षा, शैक्षिक सुधार लगायतको मुद्धामा संघर्ष गर्नकालागि समिति गठन गरिएको तदर्थ समितिका पुर्वसंयोजक अर्जुन दाहालले बताउनु भयो । कार्यक्रममा शिक्षक संगठनका प्रमुख तथा प्रतिनिधिहरुले बोलेका थिए ।