रामधन राई/खोटाङ,
चैत्र–४, राष्ट्रिय गायन प्रतियोगिता खोजी प्रतिभा सिजन थ्री अडिसनको रुपमा खोटाङ रतन्छामा आयोजित प्रतियोगिताबाट दरिला प्रतिस्पर्धीलाई पछि पार्दै प्रभात राई बिजयी बनेको छ । रतन्छाको साकेला बहुमुखी क्याम्पसको प्राङगणमा हालै सम्पन्न प्रतियोगिताबाट रतन्छा–३ का प्रभात राईले उत्कृष्ठ बन्दै खोजी प्रतिभाको टप फिप्टिमा सिधै सहभागी हुने अवसर प्राप्त गरेको हो ।
स्थानीय युवाहरुको समुह धन्यश्वरी सुनौलो प्रतिभा समुहले आयोजना गरेको गायन प्रतियोगिताबाट कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै राई उत्कृष्ट बन्न सफल भएको एकल गायन प्रतियोगिताको संयोजक समाजसेवी केशबराम राईले जानकारी दिनुभयो । निर्णायक मण्डलीमा रहेका स्थानीय संगीतपारखीहरु प्रकाश राई, सिमीराज राई, अन्जना राई, चित्रकुमार राई र युवराज राईको निर्णयअनुसार रतन्छा–६ का निशन माले र रतन्छा–१ का जुनु राईले भने क्रमशः दोश्रो र तेश्रो स्थानमा चित्त बुझाउनु परेको जनाईएको छ ।
रतन्छा, मात्तिम, खिदिमा तथा बतासेका सहभागी रहेका प्रतियोगिताबाट रतन्छा–२ का प्रकाश राई, बतासेका सरगम राई, रतन्छा–२ का मनिष्टार राई, रतन्छा–५ का असुर राई , खिदिमाका पुर्णकला मोक्तान, रतन्छा–२ का देबिका राई र रतन्छाकै भलमान राई उत्कृष्ट दशमा पर्न सफल बन्नुभएको छ । उत्कृष्ट दशलाई भने यो बर्ष सञ्चालन हुन लागेको खोजी प्रतिभाको अडिसनमा जादाँ लाग्ने यातायात, खाना तथा बासको सम्पुर्ण खर्च आफुले ब्यहोरिदिने र जिल्लाका ख्यातिप्राप्त गायक तथा संगीतकारहरुबाट प्रशिक्षण दिने समेत ब्यवस्था गरिदिने संयोजक राईले जानकारी दिनुभयो ।
स्थानीय युवाहरुको कला, प्रतिभा तथा लगनशीलताबाट प्रभाबित भई आफ्नै खर्चमा कार्यक्रम सम्पन्न गरेको जनाउँदै राईले रतन्छाको प्रतियोगिताबाट छनौट भई गएका १० जनामध्येबाट खोजी प्रतिभाको सिजन थ्रीको उत्कृष्ट दशमा पुग्न सफल भए नगद ४ लाख प्रदान गर्ने जनाउनुभएको छ । खोजी प्रतिभाको उपाधी जीते आफ्नो तर्फबाट अमेरिकाको कार्यक्रममा लैजानै अमेरिकामा बसोबास गरी रतन्छा तथा जिल्लाका समाजसेवी राईले जनाउनुभयो ।
रतन्छा, मात्तिम, खिदिमा, बतासेलगायतका प्रतिभाहरु सहभागी कार्यक्रमलाई गायक राजेशपायल राई, धिरज राई तथा रेवत राईले फोनमार्फत सम्बोधन गर्नुभयो । राजेशपायल राईले बिजयीलाई खोजि प्रतिभाको टप फिप्टीमा एकै चोटी प्रबेश गराउने बताउँदै जिल्लाको गीतसंगीतको क्षेत्रमा सक्दो योगदान गरिरहने बताउनुभयो ।
हालै सञ्चालनमा आएको बहुमुखी क्याम्पस साकेला उच्च माबि ब्यवस्थापन समितिको पुर्ब अध्यक्ष तथा जेष्ठ नागरिक भीमबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रतन्छाका बिशेष ब्यक्तित्वलगायत स्थानीयहरुको बाक्लो उपस्थिती थियो । आधारातसम्म जारी कार्यक्रममा अप्रतियोगी गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
बर्षैपिच्छे आयोजना गरिने सांगीतिक प्रतियोगितालाई थप ब्यवस्थित र भब्य बनाउँदै लैजाने समाजसेवी केशबरामले बताउनुभयो । उहाँका अनुसार यो बर्ष स्थानीय युवाहरुको सक्रियातालाई जाँच्न मात्र आयोजना गरिए पनि कार्यक्रम भब्य भएको छ । स्थानीयले देखाएको सक्रियता तथा प्रतिभाले यो कार्यक्रमलाई बर्षेनी भब्य तथा सिर्जनशील ढंगबाट सञ्चालन गर्दै केही बर्षमै जिल्लास्तरीय बनाउन सकिने उहाँको भनाई छ । कार्यक्रमले स्थानीय प्रतिभाहरुको लागि भब्य र सुनौलो अवसर बनाउन भुमिका खेल्ने भन्दै अन्य बिकासका क्षेत्रमा जस्तै कला तथा संगीतको बिकासमा आफ्नो योग्दान रहने उहाँले उल्लेख गर्नुभयो ।