चैत्र ५ । खोटाङमा एसएलसी परिक्षाको समाचार संकलनका लागि गएका पत्रकारलाई तस्बिर खिच्न रोक लगाइएको छ । एसएलसी परिक्षाको समाचार संकलन तथा तस्बिर खिच्नका लागि बिहिबार सदरमुकाम दिक्तेलस्थित सरस्वती उच्च माबि परिक्षा केन्द्रमा पुगेका तीन पत्रकारलाई तस्बिर खिच्नबाट बञ्चित गराइएको हो ।
केन्द्राध्यक्षले मेघनाथ घिमिरेले ‘परिक्षा केन्द्रभित्रको तस्बिर खिच्न नमिल्ने’ भन्दै पत्रकारहरु दमन राई, हरिबोल आचार्य र उत्तम चौंलागाईलाई तस्बिर लिनबाट रोकेका हुन् । ‘पत्रकारले तस्बिर खिच्न नमिल्ने बरु आफै खिचेर दिने’ बताएपछि पत्रकारहरु तस्बिर नलिइ फर्किएका छन् ।
भारतीय सेनाका पेन्सनर जीतबहादुर तामाङले एसएलसि दिइरहेको तस्बिर खिच्नका लागि पत्रकारहरु सरस्वती उच्च माबि केन्द्रमा पुगेका थिए । केन्द्राध्यक्ष घिमिरेले जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईकै सामु तस्बिर लिन पत्रकारलाई रोकेका थिए ।