चैत्र–८, खोटाङका गाउँ–गाउँमा बैदेसिक रोजगार सम्वन्धी सडक नाटक प्रदर्शन सुरु गरिएको छ । बैदेसिक रोजगारलाई सुरक्षित, उपलव्धीमूलक र भरपर्दो बनाउन सचेतना फैलाउने उद्धेश्यले गत चैत्र–१ गतेदेखि जिल्लाका १६ गाबिसमा ‘कथा बिदेशको’ नामक सडक नाटक प्रदर्शन सुरु गरिएको हो । 
सदरमुकाम दिक्तेलबाट प्रदर्शन सुरु गरिएको सडक नाटक जिल्लाको जालपा, माक्पा, दुबेकोल, ज्यारिमे, महेश्वरी, जलेश्वरी, ऐसेलुखर्क र डुम्रेधारापानीमा प्रदर्शन गरिसकिएको छ । बाक्सिला, बाकाचोल, फेदी, दिप्सुङ लगायतका उत्तरी गाबिसमा पनि सो सडक नाटक प्रदर्शन गरिने सुरक्षित आप्रबासन परियोजना (सामी)का खोटाङ संयोजक भक्त राईले बताउनु भयो । सचेतामूलक सडक नाटक महिना दिनसम्म प्रदर्शन गरिने जनाइएको छ । 
दिक्तेलमा सडक नाटक ‘कथा बिदेश’को मञ्चन गर्दै कलाकारहरु
सडक नाटकमा बैदेसिक रोजगारमा जानुअघि सिक्नु पर्ने सीप, पैसा दिएपछि भर्पाई लिन नभुल्न, भाषा सिकेर मात्र बिदेश जान, विदेश जानुअघि आवश्यक कागजातको प्रतिलिपी घरमा छाड्न र एकप्रति कागजात साथमा सुरक्षित राख्नुपर्ने लगायतका सन्देशहरु समेटिएका छन् । ‘हामी सडक नाटकका माध्यामबाट युवायुवतीलाई सकेसम्म स्वदेशमै रोजगारी गर्न आग्रह गर्छौँ,’ संयोजक राईले भन्नुभयो, ‘यदि बिदेश जाने नै भए सिप र तालिम सिकेर तथा जानकारी लिएर मात्र बिदेश जान प्रोत्साहित गर्छौँ ।’ गत वर्ष ‘कथा बिदेशको भाग–३’ प्रदर्शन गरेको सामीले यसपल्ट पनि फरक कथामा सोही शिर्षकको सडक नाटक प्रदर्शन सुरु गरेको हो । 
सडक नाटकमा स्थानीय कलाकारहरु योगिन राई, राजेन्द्र ढुंगाना, यशोधा राई, ममता राई, अंकिता राई, सञ्जिव राई, प्रकाश रिजाल, कबि राई, जमुना राई लगायतले अभिनय गरिरहेका छन् । शिल्पी थियटर काठ्माण्डौंका प्रशिक्षक जीवन बराल र किरण चामलीङबाट तालिम लिएपछि स्थानीय कलाकारलाई सडक नाटकमा उतारिएको हो ।