चैत्र १६ । मोवाईल चार्ज गर्नेक्रममा करेन्ट लागेर खोटाङको महादेवस्थान–१ का ४६ वर्षीय भरत दाहालको ज्यान गएको छ ।
करेन्ट लागेर मृत्य भएपछि उनको आफन्त र स्थानीयबासी आक्रोशित भएका छन् । घटनाका विषयमा तत्काल छानबिन समिति बनाउनुपर्ने, मृतक परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने लगायतका माग राख्दै मृतकका आफन्त र स्थानीय आक्रोशित बनेका हुन् ।
उनीहरुले आफूहरुले राखेको माग पूरा नभएसम्म मृतकको शव नउठाउने बताएका छन् । विद्युत प्राधिकरणको लापरबाहीका कारण बढि भोल्टेज प्रवाह भएको र घटना घटना भएको उनीहरुको आरोप छ ।
स्थानीय आक्रोशित बनेपछि प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, प्रहरी नायव उपरीक्षक खरेल, नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका प्रमुख पुरुशोत्तम रेग्मी, पुर्वसभाषद रामकुमार राई लगायतको टोली घटनास्थलमा पुगेका छन् ।
गाईघाट–बुइपा ३३ केभी विद्युत प्रशारण लाईन अन्तरगत बिस्तार गरिएको लाईनमा अचानक ११ हजार भोल्टको विद्युत प्रवाह भएपछि करेन्ट लागेका दाहालको आईतबार साँझ ज्यान गएको स्थानीय टिवन राईले जानकारी दिनुभयो ।
यसअघि पनि करेन्ट लागेर सोही गाउँकी एक महिलाको दुबै हात र एउटा खुट्टा गुमेको थियो ।