चैत्र–१८, खोटाङको डाँडागाउँलाई जिल्लाकै पहिलो खोपयुक्त गाबिस घोषणा गरिएको छ । गाबिसका १२ देखि २३ महिनाका बालबच्चालाई दिनुपर्ने सबै खोप पूरा गरेको आधारमा डाँडागाउँलाई खोपयुक्त गाबिस घोषणा गरिएको हो ।
गाबिसका १२ महिनादेखि २३ महिना उमेर समुहका ५९ बालबालिकालाई बिसिजि, डिपीटि, पोलियो, दादुरा रुबेला लगायतका रोगबिरुद्ध दिइने सबै खोप दिइसकेपछि खोप युक्त घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका खोप सुपरभाइजर फडिन्द्र थापाले बताउनु भयो ।
गाबिसका कुनैपनि बालबालिका खोप लगाउनबाट नछुटेको प्रतिबेदनका आधारमा डाँडागाउँलाई खोपयुक्त गाबिसको प्रमाणपत्र प्रदान गरिएको छ । निर्देशिका अनुशार गाबिसका सबै बालबालिकाले खोप पूरा गरेको स्थानीय स्वास्थ्य सहयोग समितिको प्रतिबेदनका आधारमा खोप समन्वय समितिको अनुगमन तथा निर्णयपछि मंगलबार खोपयुक्त घोषणा गरिएको थापाले बताउनु भयो ।
स्वास्थ्यका अनुशार बालबालिकालाई बिसिजि, डिपीटि, पोलियो, दादुरा रुबेला लगायतका खोप दिइपछि खोप पूरा भएको मानिन्छ । ‘गाबिसबाट निर्देशिका अनुशार बालबालिकालाई खोप पूरा भएको प्रतिबेदन पठायो,’ खोप सुपरभाइजर थापाले भन्नुभयो, ‘सो प्रतिबेदनका आधारमा खोप व्यवस्थापन समितिको बैठकले अनुगमन गर्ने निर्णय ग¥यो, अनुगमनमा उपयुक्त देखिएपछि खोपयुक्त घोषणा गरिएको हो ।’
खोप व्यवस्थापन समितिको बैठक लगत्तै डाँडाडाउँ–२, ३ र ७ मा ‘स्याम्प्लिङ’ गर्न पुगेको डा. माधव लम्साल सहितको ८ सदस्यीय टोलीले गाबिसलाई खोपयुक्त घोषणा गर्न उपयुक्त ठहर गरेको थियो ।
५२६ घरधुरी रहेको डाँडागाउँलाई मंगलबार खोपयुक्त सँगै खुल्ला दिशामुक्त, पूर्ण साक्षर र घरभित्रको धुवाँरहित गाबिस घोषणा गरिएको छ ।