
चैत्र–१८, खोटाङको जालपा माबि नुनथलाले लगातार तेश्रो बर्ष राष्ट्रपति रनिङ कप प्रतियोगीताको पहिलो उपाधि हात पारेको छ । ‘स्वास्थ्यकालागि खेलकुद, राष्ट्रकालागि खेलकुद’ भन्ने नारासहित बुधबार सम्पन्न प्रतियोगिताको बिभिन्न इभेण्टमा सबैभन्दा बढि अंक ल्याएर जालपा माबि नुनथलाले प्रतियोगीताको पहिलो उपाधीमा तेश्रोपल्ट कब्जा जमाएको हो ।
मार्सलआर्टका खेलबाहेक एथ्लेटिक्स र भलिबलबतर्फको खेलमा बिजय भएवापत पाएको अंक जोड्दा सर्वाधिक अंक हाँसिल गरी जालपा माबिले प्रथम स्थान प्राप्त गरेको आयोजक जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । लगातार तेश्रो पल्टसम्म उपाधि जितेका कारण जालपा माबि नुनथलाले राष्ट्रपति कप ‘पचेको’ छ । कप पचेका कारण अर्को वर्ष भने आयोजकले अर्को कपको व्यवस्था गर्नुपर्ने भएको छ ।
सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सोमबार र मंगलबार सञ्चालन भएको प्रतियोगीतामा पृथ्बी उच्च माबि बाक्सिलाले दोश्रो र भगवती दिनानाथ उच्च माबि खोटाङबजारले तेश्रो स्थान हात पारेको छ । प्रतियोगीतामा प्रथम स्थान हाँसिल गर्न सफल विद्यालयले १५ हजार, दोश्रोले १२ हजार र तेश्रो हुने विद्यालयले ९ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
अंकको लागि खेलाइएको छात्रा भलिबलतर्फ सिद्वेश्वरी माबि खिदिमा प्रथम, जालपा माबि नुनथला दोश्रो र कालिका माबि खार्मी तेश्रोे भएका छन् । यस्तै, छात्र भलिबलतर्फ कालिका माबि बाकाचोल प्रथम, जालपा माबि बादेल दोश्रो तथा जालपा माबि नुनथला र भगवती दिनानाथ उच्च माबि तेश्रो भएको आयोजकले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड अन्तरगत छात्र÷छात्रा एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट, तेक्वान्दो, उफ्रने र फ्याँक्ने प्रतियोगीता सञ्चालन गरिएको थियो ।
प्रतियोगीतामा क्षेत्र स्तरिय छनौट प्रतियोगीताबाट छानिएका जालपा माबि राखाबांदेल, जालपा माबि नुनथला, कालिका माबि खार्मी, राष्ट्रिय माबि बासपानी, पृथ्बी उच्च माबि बाक्सिला, भगवती दिनानाथ उच्च माबि खोटाङबजार, कालिका माबि काबाचोलले प्रतिष्पर्धा गरेका थिए । क्षेत्रीय स्तरको छनौट खेलमा क्षेत्र नम्बर–१ मा १० र क्षेत्र नम्बर–२ मा ७ बिद्यालयले सहभागीता जनाएको थियो ।