चैत्र–२४, जिल्लामा तीस दलीय गठबन्धनले आव्हान गरेको बन्दको प्रतिकार भएको छ । बन्दका क्रममा बन्दकर्ताले केही कुटपिट तथा तोडफोड गरेको भन्दै त्यसको प्रतिकार गरिएको उद्योग वाणिज्य संघ खोटाङले जनाएको छ । 
बन्दकर्ताले केही पसलमा लात्ती हानेको र केही व्यक्तिलाई बन्दकर्ताले कुटपिट गरेपछि त्यसको विरोधमा बजारबासी उत्रिएका उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजु लयालुले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीको व्यवसाय गर्ने नैसर्गीक अधिकारमाथि हस्तक्षेप भएको छ, यसमा राज्यले सुरक्षा दिनुपर्छ ।” बन्दकर्ताको शैलीप्रति आक्रोसित वाणिज्य संघले बजार पसल खोल्न व्यवसायीलाई आग्रह गर्दै बजार परिक्रमा गरेका थिए । उनीहरुले रत्नपार्कदेखि त्रिवेणीचौकस्थित वाणिज्य संघको कार्यालयसम्मका बजार पसल खुलाएका थिए । 
बन्द खुलाएपछि वाणिज्य संघका अध्यक्ष राजु लयालुको नेतृत्वमा शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा डेलीगेसन गएका थिए । उनीहरुले आफूहरुको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइनुपर्ने, बन्दकर्ताले पु¥याएको क्षतिपूर्ती गराइनुपर्ने, अराजक गतिविधि सञ्चालन गर्नेलाई कानूनी कारबाही गरिनुपर्ने, बुधबारबाट सहजरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने लगायतका माग राखेका छन् ।   
डेलीगेसन टोलीले राखेका माग प्रति आफू सकारात्मक रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरुको माग प्रति म गम्भिर छु, अराजक गतिविधि सञ्चालन गर्नेलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको छु, त्यसैले ढुक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्नुस् ।”
आन्दोलनकारीको बन्दप्रति वाणिज्य संघ उत्रिएपछि जिल्लामा तनाब बढ्ने आशंकामा प्रहरी प्रशासनले उच्च सतर्कता अपनाएको प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि जिल्लाका विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको छ, त्यसैले ठूलो दुर्घटना हुने सम्भावना छैन ।”
बन्दकर्ताले दिक्तेलका ज्ञानबहादुर खत्रीलाई पसलबाहिर उभिरहेको अवस्थामा कुटपिट गरेको, रत्नपार्कका राजू श्रेष्ठको पसलको ढोका फोरेको, चौधरी पसलको ढोका फुटाएर सामान छरपस्ट बनाइदिएको र विजय लुइटेलको पसलको ढोका तोडफोड गरेको संघले जनाएको छ । मोर्चाको बन्द खुलाउन केही व्यवसायीले अर्को बल प्रयोग गरेको मोर्चामा अवद्ध एकीकृत नेकपा माओवादी खोटाङका सहसचिव सुरेश राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आव्हान गरेको शान्तिपूर्ण आन्दोलनप्रति केही व्यक्तिले अवज्ञा गरेको छ, यसले राम्रो नतिजा दिने छैन ।”
तोडफोडपछि बाणिज्य संघ नेतृत्व व्यवसायीको टोलीले शान्ति सुरक्षा, अराजकशैलीमा उत्रिएका बन्दकर्तालाई कारबाही र क्षतीपुर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा समक्ष  माग गर्दे व्यवसायी ।
तस्विरः उत्तम चौलागाई/खोटाङ

बन्दकर्ताले आव्हान गरेको बन्दले जिल्लामा सञ्चालित पसल, शैक्षिक संस्था, यातायात लगायत सबै बन्द भएका थिए । बिहान पाँच बजेबाट सुरु आमहड्ताल साँझ पाँच बजेबाट खुलाइएको बन्दकर्ताले जनाएको छ ।