चैत्र–२८, खोटाङमा जलबायु परिवर्तन सम्बन्धी अध्ययन केन्द्र सुरु गरिएको छ । बढ्दो जलवायु परिवर्तनका बिषयमा अध्ययन र न्यूनीकरणका लागि सदरमुकाम दिक्तेलमा जलबायु परिवर्तन अध्ययन केन्द्र सुरु गरिएको हो । 

सामुदायीक बन उपभोक्ता महासंघ खोटाङले ‘ज्ञान व्यवस्थापन’कारुपमा स्थापना गरेको अध्ययन केन्द्र बिहिबार प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले उदघाटन गर्नुभएको हो । पुस्तकका माध्यमबाट जलबायु परिवर्तनका बिषयमा जानकारी दिँदै न्यूनीकरणका उपायका बिषयमा सबैलाई सुसुचित गराउनका लागि जलबायु परिवर्तन सम्बन्धी अध्ययन केन्द्र सुरु गरिएको सामुदायीक बन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राईले बताउनु भयो । 

अध्ययन केन्द्रमा जलबायु परिवर्तन, जलबायु परिवर्तनका आधारभुत विज्ञान, जलबायु परिवर्तनका प्रभावहरु, अनूकुलन योजना तर्जुमा, बन व्यवस्थापन, नेपालमा रेडप्लस रणनितिको प्रमुख संरचना, वाताबरणीय सेवाबापतको भुक्तानी लगायतका पुस्तक, जलवायु परिवर्तन सम्वन्धी श्रव्यदृश्य सामग्रीको अध्ययन गर्ने व्यवस्था छ । 

‘जलवायु परिवर्तनको विषयमा सबैलाई स्पष्ट बनाउने हाम्रो पहिलो उद्धेश्य हो,’ अध्यक्ष राईले भन्नुभयो, ‘दोश्रो यसको न्यूनीकरणका उपायका बिषयमा जानकारी दिएर अनुकुलित हुन सिकाउन अध्ययन केन्द्रको अवधारणा अघि सारिएको हो ।’ अध्ययन केन्द्रमा समुदायमा आधारित जलबायु परिवर्तन अनूकुलन योजना र गाबिस स्तरीय जलबायु परिवर्तन अनुकुलन योजना समेतको अध्ययन गर्ने व्यवस्था छ । श्रव्यदृश्य सामग्री भने ल्यापटपका माध्ययमबाट देखाउने र पेनड्राइभमा लैजाने व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।