चैत्र–२७, छोटो अवधिमा दुबेकोल गाविसका एकै वडाका तीन वटा घरमा श्रृङ्खलावद्ध चोरी भएपछि स्थानीयबासी त्रसित बनेका हुन् । दुबेकोल–१ का फौदबहादुर भुजेल, ज्ञानी गुरुङ र प्रकाश गुरुङको घरमा श्रृङ्खलावद्धरुपमा चोरी भएपछि स्थानीय त्रसित बनेको सामुदायीक स्वयंसेबिका नीता भुजेलले जानकारी दिईन् ।
फौदबहहादुरको घरबाट तामाका एक थान पूराना गाग्री, एक थान पितलको खडकुँला र आधा माना पूरानो सिक्का चोरी भएको हो । भर्खरै किनेको घरमा बसोबास गरिरहेको अवस्थामा पूरानो घरबाट धातुका भाँडा र सिक्का चोरी भएको फौदबहादुरले जानकारी दिए ।
‘हामी भर्खरै किनेको घरमा बस्दैआएका थियौँ, सामानहरु चैँ सारेका थिएनौँ,’ फौदबहादुरले भने, ‘पछि घर हेर्न जाँदा ताला फोडेर पूराना मालमत्ता र पैसा चोरी भइसकेको रहेछ ।’ ट्यांका फोडेर पूरानो सिक्का चोरी भएको उनले जनाए ।
ज्ञानीको घरबाट तामाको तीन वटा खडकुँला, एक वटा पितलको खडकुँला, दुई वटा गाग्री र एक थान थाल चोरी भएको छ । यस्तै, प्रकाशको घरबाट तामाकै भाँडाकुँडा चोरी भएको स्थानीयले बताएका छन् । उनीहरुको ढोकाको ताला फोडेर सामान चोरी भएको सामुदायीक स्वयंसेबिका भुजेलले जानकारी दिइन् । प्रकाशको घरमा बिहिबार राती चोरी भएको हो । फौदबहादुर र ज्ञानीको घरमा भने चोरी भएको मिति थाहा हुन सकेको छैन ।
श्रृङ्खलावद्ध चोरी गर्नेको पहिचान हुन सकेको छैन । चोरीमा ठूलो समुहको संलग्नता रहेको स्थानीयको अनुमान छ । घटनाका बिषयमा प्रहरीचौकी डुम्रेधारापानीलाई जानकारी दिइएको छ । प्रहरीले निबेदन ल्याउन भनेको भुजेलको भनाई छ ।