लीला निरौला/खोटाङ
साउन–२९, वैदेशिक रोजगारीको विप्रेषण १० हजार, मकै बिक्रीबाट २५ हजार अनि अम्रिसोबाट पाँच हजार रुपैंयाँ । खोटाङ दोर्पाकी कमला पाण्डेको परिवारमा गत महिना भएको कूल आम्दानी ४० हजार रुपैंयाँ थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ की कमलाको परिवारमा सोही महिना १५ हजार तीन सय २० रुपैंयाँ खर्च भयो । एक पैसा पनि तलमाथि नगरी कमलाले आफ्नो पासबुकमा हिसाब राख्नुभएको छ ।
कमलाको हिसाब अनुसार सो महिना खाजाको लागि चिउरा किन्दा ११ सय रुपैंयाँ खर्च भयो । शिक्षा अर्थात वालबालिकाको कापकिलमको लागि ५ सय, औषधी उपचारमा १० हजार र पानी र बिजुलीको बिल तिर्दा १ सय २० रुपैंयाँ खर्च भएको पासबुकमा उल्लेख छ । त्यो महिना मोवाईलमा रिर्चाज गर्दा ६ सय खर्च भएको थियो भने चिनी र खाने तेलमा ४/४ सय रुपैंयाँ खर्च लाग्यो । कमलाको पासबुक अनुसार सो महिना २२ सय रुपैंयाँको मासु खानुभएको छ । यसरी आम्दानी र खर्च विवरण हेर्दा उक्त महिनाको बचत २४ हजार ६ सय ८० रुपैंयाँ देखिन्छ ।
कमलालाई आम्दानी र खर्चको बिवरण राख्नाले फाईदै फाईदा हुने कुरा राम्ररी थाहा छ । भन्नुहुन्छ–‘यसो गर्दा सबै हिसाब देखिन्छ अनि घरझगडा समेत हुँदैन ।’ बिवरणलाई सन्तुलित बनाउन अर्थात आम्दानी बढाउन र खर्च घटाउनतिर स्वस्फुर्त रुपमा लागिने उहाँको भनाई छ ।
यता, सोही नगरपालिका–३ बाम्राङकी शान्ता पाण्डेले पनि पासबुकमा आम्दानी र खर्च विवरण राख्ने गर्नुहुन्छ । सानोतिनो पैसाको कारोबार गर्दा समेत घरपरिवारसँग सल्लाह गर्नुहुन्छ । पहिला–पहिला विदेशबाट आएको पैसा सिधै घर लगेर खर्च गर्ने शान्ता अहिले पहिला बचत गर्ने रकम छुट्याउनुहुन्छ अनि खर्च गर्नुहुन्छ । ‘
पहिला त हामी केटाकेटीलाई चाऊचाऊ, विस्कुट खाजा खुवाईन्थ्यो । अहिले चाहीँ हामी घरकै खानेकुरा खुवाउछौ ।’ शान्ता सुनाउनुहुन्छ– ‘यो आम्दानी र खर्चको विवरण राख्नाले हामीमा निकै परिवर्तन आएको छ ।’ बचत गर्ने बानीले गर्दा खर्च आवश्यक परिहाले पनि अप्ठ्यारो नहुने उहाँको भनाई छ ।
दोर्पाको कमला र बाम्राङको शान्ता दुई उदाहरण मात्र हुन् । जिल्लाका बिभिन्न स्थानमा सञ्चालन गरिएको वित्तिय साक्षरता कक्षाका सहभागीहरुको परिवारमा पछिल्लो समय परिवर्तनका रेखाहरु कोरिएको भेटिन्छ । ती परिवारहरुमा आम्दानी बढाउने र बचत गर्ने संस्कृति मौलाएको छ । खर्च घटाउने र आम्दानी बढाउने अनि बचत गर्ने बानीको बिकासले परिवार सुखी र शान्त बनेको सहभागीहरु बताउँछन् ।
बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी अन्र्तगत उक्त कक्षा सञ्चालन हुँदै आएको छ । हाल अधिकांश सहभागीहरुले आम्दानीको लागि कुनै न कुनै ब्यवसाय अपनाईरहेको पाईएको छ । कतिपयले कुखुरापालन, खसी, माछापालन जस्ता ब्यवसायिक कार्य थालेका छन् । सहभागीमध्ये कतिपयले ब्यवसायिक तरकारी खेति तथा सानातिना पसल ब्यवसाय सुरु गरेको सामी परियोजना अन्र्तगत बिद्यालय तथा आम सञ्चार कार्यक्रम संयोजक ओजोनबावु आचार्यले जनाउनुभयो ।
वित्तिय साक्षरता कक्षामा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्दा यस्तो परिवर्तन आएको हो । २०७३ सालमा दोर्पा, नेर्पा र बाम्राङमा उक्त कक्षा सञ्चालन गरिएकोमा अहिले प्रत्यक्ष परिवर्तन पाईएको वित्तिय साक्षरता सहजकर्ताहरु बताउँछन् ।
यस्तो कक्षामा वैदेशिक रोजगारीमा संलग्न घरपरिवारका रेमिट्यान्स प्रापक वा सञ्चालकहरुलाई समाबेश गर्ने गरिएको छ । रेमिट्यान्सको सही सदुपयोग वा खर्च, आम्दानी र खर्चको विवरणको महत्व लगायतको बारेमा छलफल गरिन्छ । रेमिट्यान्सको मात्र भर नपरी घरमै पनि आम्दानीको बाटो समाउन अपनाउन सकिने विभिन्न उपायहरुको बारेमा समेत कक्षामा छलफल हुने गरेको छ । कक्षामा वैदेशिक रोजागारीको क्रममा जाने ब्यक्ति तथा परिवारको सदस्यहरुको सुरक्षाका लागि अपनाउनुपर्ने बिभिन्न सावधानी तथा प्रक्रियाहरुको बारेमा समेत छलफल हुने संयोजक आचार्यको भनाई छ । वित्तिय साक्षरता कक्षा जिल्लाको आचार्यगाउँ, खाल्ले, लफ्याङ लगायतका स्थानहरुमा समेत सञ्चालन गरिएको थियो ।
वैदेशिक रोजगारीको क्रममा आवश्यक कागजपत्र, भाषा तथा सीप तालिम आदिको महत्वको बारेमा समेत वित्तिय साक्षरता कक्षामा छलफल हुने गरेको छ । वैदेशिक रोजगारीको रेमिट्यान्सलाई सही सदुपयोग गर्दै जिल्लाका युवाहरु सँधैभरि वैदेशिक रोजगारीमै गईरहनुपर्ने अवस्था अन्त्य गर्ने उदेश्यले सामीले बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।