उत्तम चौलागाई/खोटाङ, 
बैसाख–३, कहिलेपनि हाकिम नपुगेको पौवासेरा गाविसमा सदरमुकामबाट पहिलो पटक हाकिम पुग्दा स्थानीयको खुशिको सिमा रहेन । सदरमुकाम दिक्तेलबाट २४ कोष टाढा रहेको पौवासेरा गाविस जिल्लाको दक्षिणी क्षेत्रमा पर्दछ । दुरदराजमा रहेको यो गाविसमा सदरमुकामबाट पहिलोपटक हाकिम पुग्दा स्थानीयमा हर्ष उल्लास आउनु पनि नौलो कुरा हैन । जिल्लाबाट स्थानीय विकास अधिकारीको टोली आफनो गाविसमा आउँदा स्थानीयबासी बिकास निर्माणको कुरा राख्न आतुर देखिन्थे ।
सुनकोशि नदी किनारमा अवस्थित रही यातायातको गुञ्जायस नभएको क्षेत्र अन्तरगत पर्ने पौवासेरा हरेक बिकासबाट ओझेलीएको गाविस भएकाले पनि होला जिल्लाबाट स्थानीय बिकास अधिकारी महेन्द्रकुमार सापकोटा र योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश अधिकारी त्यहाँ पुग्दा स्थानीय हर्षित हुंदै फुलमाला अविरजात्रा संगै स्वागत गर्नमा ब्यस्त देखिन्थे । हाम्रो गाविसमा हाकिम आएका छन् अरे अव बिकासका कुरा माग्नुपर्छ, त्यसमा पनि स्थानीय बिकास अधिकारी र योजना अधिकृत आएका छन् अरे, अव हाम्रो गाविसको बिकास हुने भयो भन्दै स्थानीय चोकमा बाटोमा गफिदै पनि थिए ।
पौवासेरा पुगेका स्थानिय बिकास अधिकारी महेन्द्रकुमार सापकोटा, योजना अधिकृत अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश अधिकारीलाई स्वागत गर्दे स्थानिय ।
तस्विरः उत्तम चौलागाई/खोटाङ
२ हजार ३ सय जनसंख्या रहेको पौवासेराका स्थानीयहरु बिकास निर्माण सम्बन्धी आफ्ना गुनासा राख्न आतुर देखिन्थे । यी सवै स्थानीयका भावना बुझेर स्थानीय विकास अधिकारीको टोलीद्धारा विकास निर्माण कार्यको अनुगमन, जनतासँगको अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना पनि गरियो । सार्वजनिक सुनुवाईमा बृद्ध बृद्धा, महिला, पुरुष, यूवा, बयस्क सवै भेला भएर स्थानीय बिकास अधिकारी सापकोटा र योजना अधिकृत अधिकारीसँग सावाखोला वारीका १३ गविसमा बिकास गरिदिन माग गरे ।
स्वास्थ, शिक्षा, रोजगार, सडक, खानेपानी, बिद्युत लगायतका क्षेत्रमा बिकास गरिदन स्थानीयले उनिहरुसँग अनुरोध गरे । सार्वजनिक सुनुवाइमा बोल्ने अधिकांशले जिल्लाको राजनैतिक र प्रशासनिक नेतृत्वको नजरमा पर्न नसक्दा सावाखोला वारीका १३ वटा गाविसको अवस्था अत्यन्तै दयनिय भएको दुवै अधिकारीसंग दर्शाए ।
जिर्ण अवस्थामा रहेको पौवासेराको बनकाली पञ्चकन्या प्राविमा राखिएको सार्वजनिक सुनुवाइ कार्यक्रम । तस्विरः उत्तम चौलागाई/खोटाङ
जिल्लाले यस्तो पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखेर आयोजनाहरु सञ्चालन नगरेको, जिल्लामा प्राप्त भएको बजेटलाई समानुपातिक रुपमा यस क्षेत्रले प्राप्त गर्न नसकेको, तल्लो तहबाट माग भएका आयोजना भन्दा जिल्ला नेतृत्वको दवावमा आयोजनाहरु छनौट हुने गरेकोे, विकासको प्रतिफल यस क्षेत्रका जनताले प्राप्त गर्न नसकेको, प्राथमिक स्वास्थ्य, खाद्यान्न लगायतका अन्य दैनिक उपभोग्य बस्तुको लागि उदयपुरको वेलटार र गाईघाट पायक पर्ने भएको हुँदा सदरमुकाममा बन्ने भौतिक पूर्वाधार तथा सदरमुकामबाट प्रवाह हुने सेवा सुविधाबाट यस क्षेत्रका जनताले लाभ लिन नसक्ने हुँदा फरक किसिमको व्यवस्था गर्न नसकेको, स्थानीय सडकहरु निर्माण गर्दा प्राय सवै गाविसलाई ऋण लागेको हुँदा आफुहरुलाई त्यसले दिनरात पिरल्ने गरेको जस्ता गुनासोहरु स्थानीयबासीले सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सापकोटा र अधिकारीसंग दिल खोलेर राख्न भ्याए । यति मात्र हैन उनिहरुले पौवासेरा जस्ता जिल्लाका दुरदराज गाविसमा गएर अनुगमन गरिदिन र उनिहरुको समस्या बुझिदिन आग्रह समेत गरे ।
गाविस सचिव ढुण्डीराज दुलाल मार्फत विकास आयोजनाहरुको माग सहितको ज्ञापनपत्र स्थानीय बिकास अधिकारी सापकोटाको हातमा थमाइदिए र आगामी दिनमा विकास सावावारी पनि तारिदिन आग्रह गरे । पौवासेरामा भएको सार्वजनिक सुनुवाईमा छिमेकी गाविस सुन्तले, फाक्टाङ, मौवावेटे लगायतका स्थानीय राजनैतिक नेतृत्व तथा सरोकारवालाहरु पनि उत्तिकै मात्रमा सहभागि थिए । यी र यस्ता गतिबिधि देखेपछि गाविस पुगेका स्थानीय बिकास अधिकारी सापकोटा र योजना अधिकृत पनि दुखित नै देखिन्थे । 
सार्वजनिक सुनुवाइ मार्फत स्थानिका माग प्रति सापकोटाले प्रतिबद्धता जनाउनैपर्ने अवस्था भएकाले दुर्गम क्षेत्र भए पनि यस क्षेत्रका गाविसहरुले आफ्ना तुलनात्मक लाभको क्षेत्र के हो भनि स्पष्ट पहिचान गर्दै सोही क्षेत्रमा लगानी केन्द्रित गर्नु भविस्यका लागि राम्रो हुने बताउनु भयो । उहाँले स्थानीयवासी सामु योजना तर्जुमालाई वस्तुनिष्ठ, जनकेन्द्रीत र यथार्थपरक बनाउनका लागि स्थानीय निकायको निर्वाचन चाँडो भन्दा चाँडो हुनुपर्ने विचार व्यक्त गर्नुभयोे । सापकोटाले आफुले आफ्नो तह र तप्काबाट यथासक्य रुपमा यस क्षेत्रलाई प्राथमिकता दिएर विकासका क्रियाकलाप संचालन गर्न मद्दत गर्ने र अन्य विषयगत कार्यालय एवं राजनैतिक दलका जिल्ला नेतृत्वलाई समेत यस क्षेत्रको भ्रमण गरी वस्तुस्थिति मूल्यांकन गर्दै लगानी केन्द्रीत गर्न अनुरोध गर्ने र आफुले समेत सोही बमोजिम पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पौवासेरालाई खुला दिशामुक्त गाविस घोषणा सभाको प्रमुख अतिथिको रुपमा समेत पुग्नुभएको सापकोटाले त्यस क्षेत्रको भ्रमणले आफुलाई जिल्लाको दुर्गम क्षेत्रको विषयमा धेरै कुरा बुझ्ने मौका मिलेको बताउनु भएको छ । उहाँले आगामी दिनमा जिल्लाले कस्ता क्षेत्रलाई प्राथमिकता दिएर योजना तर्जुमा गर्नुपर्ने भन्ने विषयमा आफुलाई मार्गदर्शन मिलेको विचार समेत व्यक्त गर्नुभयो । साथै यस क्षेत्रको भुगोल, विकासको वर्तमान अवस्था र स्थानीय जनताको आवश्यकताले समानुपातिक विकासको जोडदार माग गरेकोले आगामी दिनमा विकास सम्बन्धी राजनैतिक, सरकारी तथा गैरसरकारी फोरमहरुमा बिकासबाट ओझेलिएका क्षेत्रहरुलाई प्राथमिकतामा राख्न आफुले पहल गर्ने प्रतिवद्धता पनि सापकोटाले व्यक्त गर्नुभयो । यसै सन्दर्भमा उहाँले अवका दिनमा सदरमुकाम केन्द्रित मात्र नभइ गाँउ–गाँउमा आफु पुग्ने प्रतिबद्धता स्थानीयवासीका विचमा राख्नुभयो ।
धाप्लाङ धर्तुङ सडकको अनुगमन गर्दै स्थानिय बिकास अधिकारी महेन्द्र सापकोटा लगायत ।
तस्विरः उत्तम चौलागाई/खोटाङ
यो त पौवासेरा गाविसका स्थानीयको गुनासो हो जिल्लाका अति दुरदराज गाविसमा सदरमुकामबाट सरकारी कार्यालयका हाकिम, कर्मचारी कोहि कहिले पुग्दैनन्, यति मात्र हैन कतिपय गाविस सचिव भेट्नका लागि स्थानियले सदरमुकाम नै धाउनुपर्छ, सूचना संचारको बिकास, स्वाथ्य सुबिधा लगायतबाट पिछडिएका दुरदराज र अति बिकट यी र यस्ता गाविसका जनताले सरकारी सेवा कहिले पाउलान, यो विषयमा सवैको ध्यान जान जरुरी छ ।