बैशाख–६, घाँस काट्न जङ्गल गएकी खोटाङकी एक युवतीको भीरबाट लडेर ज्यान गएको छ । जिल्लाको पश्चिमी गाविस डिकुवा–६ मा पर्ने आँतरे भीरबाट लडेर डिकुवा–१ की २० वर्षीया तेजुमायाँ राईको ज्यान गएको हो । 
शनिबार बिहान घाँस काट्न गएकी राई बेलुकासम्म नफर्किएपछि खोजतलास गर्दा सोही बेलुका फेला परेको स्थानीय रुपा राईले जानकारी दिनुभयो । आँतरे भीरबाट लडेकी उनी तीन सय मिटर तल मृत फेला परेको स्थानीयको भनाई छ ।
विभत्स अवस्थामा फेला परेको उनको शव आइतबार दाहसंस्कार गरिएको स्थानीयले जनाएका छन् । स्थानीयका अनुसार उक्त आँतरे भीरबाट लडेर गत वर्ष फरक–फरक समयमा दुई जनाको मृत्यु भएको थियो ।