बैशाख–१०, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान निर्माणमा एकीकृत नेकपा माओवादी सबैभन्दा बाधक बनेको आरोप लगाउनुभएको छ । एमाले खोटाङको छैठौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
सदरमुकाम दिक्तेलस्थित स्थानीय हेलीप्याडमा भएको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै संविधान निर्माणमा आफ्नो पार्टी हदैसम्म लचिलो भएर अगाडि बढेपनि एमाओवादी बाधक भएको दावी गर्नुभयो । पूर्व गृहमन्त्री समेत रहनुभएका उपाध्यक्ष रावलले भन्नुभयो, “हामी अत्यन्तै लचिलो भएर सबै जातजातिको अधिकारलाई सम्बोधन गर्ने संविधान निर्माणमा लागी परिरहेका छौं, तर एमाओवादीका नेताहरुका कारण अवरुद्ध भइरहेको छ ।”
एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको अधिवेशनमा पोलिटव्यूरो सदस्य रामपृत पासवान, वैकल्पीक पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य खगेन्द्र राई, सुमनराज प्याकुरेल, बैकल्पीक केन्द्रीय सदस्य विशाल भट्टराई, राजन राई, सभाषद पिके राई, निर्वाचन आयोगका सदस्य गंगा नेपाल लगायतका नेताहरुले सम्बोधन गरिरहेका छन् । स्थानीय हेलीप्याडमा आयोजना गरिएको अधिवेशनमा हजारौं कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहेको छ । 
अधिवेशनको बन्दसत्रमा पाँच सय २५ प्रतिनिधिको सहभागिता रहेको जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख रामप्रसाद दंगालले जानकारी दिनुभएको छ । ‘स्थायी शान्ति, साझा पहिचान सहितको संघीयता र अग्रगामी संविधान, संवृद्ध खोटाङ र सशक्त एमाले निर्माणको लागि छैठौँ जिल्ला अधिवेशन’ भन्ने नारासहित उद्घाटन भएको अधिवेशनले सर्वसहमतीमा नयाँ नेतृत्व चयन गर्ने एमाले जिल्ला अध्यक्ष बबी चाम्लिङले बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेको यसअघिको सँस्कारलाई यसपल्टको अधिवेशनमा पनि निरन्तरता दिइनेछ, यसमा हामी पार्टीभित्र छलफल गरिसकेका छौं ।”

यो पनि हेर्नुहोला ।

एमाले खोटाङको छैठौं अधिवेशनको केहि झलक

संबिधानसभालाई खेर जान दिन्नौँः अध्यक्ष ओली