बैशाख–११, खोटाङमा लोकतन्त्र दिवस मनाइएन । दोस्रो लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिनकारुपमा मनाइनुपर्ने लोकतन्त्र दिबसका दिन जिल्ला सुनसान रहे । लोकतन्त्र दिवसका दिन कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रम भएनन् । सरकारी कार्यालयले बिदा मनाए भने राजनैतिक दलहरुले समेत दिवस मनाउन कुनै चासो देखाएनन् । 
लोकतन्त्र दिबसका दिन  कोही कसैबाट पनि र्‍याली निकाल्ने, सभा, छलफल, अन्तरक्रीया लगायतका सामान्य कार्यक्रम समेत गरिएन । बिशेषगरी लोकतन्त्रको पक्षमा जनआन्दोलनको नेतृत्व गर्ने दलहरुले दिवस मनाउन भुल्न नहुने राप्रपा नेपाल खोटाङका अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनु भयो । ‘जसले लोकतन्त्र–लोकतन्त्र भन्दै आन्दोलन गरे, रगत बगाए,’ श्रेष्ठले भन्नुभयो, ‘उनीहरुले त्यो इतिहासलाई बिर्सनु हुँदैन ।’ 
नेपाली जनताको १९ दिने बलिदानीपूर्ण जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र स्थापना भएको बिहिबार ९ वर्ष पूरा भएको छ । विसं २०६२/०६३ को आन्दोलन २०६३ साल वैशाख–११ गते सम्पन्न भएका कारण उक्त दिनलाई लोकतन्त्र दिवसका रुपमा लिइएको छ । नेपालमा दश वर्षसम्म सशस्त्र संघर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रुपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ । 
निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको जनआन्दोलन–२०६२/६३ ले आजकै दिन सफलता प्राप्त गरेको थियो । जन आन्दोलनको समयमा २५ जनाले ज्यान गुमाएका थिए भने करिब २१ हजार नागरिक घाइते भएका थिए । शान्ति र संविधानको जगमा भएको जनआन्दोलन सफल भए पनि मुलुकमा आन्दोलनका उपलब्धीहरु संस्थागत भइसकेका छैनन् । मुख्यकाम संविधान निर्माण र शान्ति प्रक्रिया पुरा भइसकेको छैन ।