बैसाख–१२, नेकपा एमाले खोटाङको सर्वसहमत नयाँ नेतृत्व चयनकालागि आठ सदस्यीय समन्वय समिति गठन गरिएको छ । शुक्रबार बिहानदेखि रातीसम्म सञ्चालन भएको छैठौं अधिवेशनको बन्दसत्रमा सबै पदाधिकारी पदका आकाक्षी बढि देखिएपछि सर्वसहमतीमा नेतृत्व चयनकालागि समन्वय समिति चयन गरिएको हो । 
एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, बिशाल भट्टराई, राजन राई, पिके राई, उषाकला राई, पर्शुराम कार्की, हरि पोखरेल र कर्ण घले रहेको समन्वय समितिले शनिबार दिनभर सर्वसहमतीकालागि प्रयास गर्ने एमालेले जनाएको छ । सहमतीकालागि शुक्रबार रातीदेखि कसरत थालेको समितिले आज दिनभर पदाधिकारीका आकांक्षीलाई एक ठाउँमा ल्याएर सर्वसहमतीकालागि पहल गर्ने छ । 
अध्यक्षकालागि निवर्तमान अध्यक्ष बबि चाम्लिङ, सचिव राम दंगाल र क्षेत्रीय अध्यक्ष सुरेन्द्रकुमार राईले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको एमाले स्रोतले जनाएको छ । स्रोतका अनुसार उपाध्यक्षमा नारायणप्रसाद जोशी, खडेन्द्र राई, अकिल राई र गृहबहादुर राईले उम्मेदवारी दिने तयारी गरेका छन् । यस्तै, सचिवमा दीपनारायण रिजाल, देवबिक्रम राई, कुमार आचार्य र बिष्णुप्रसाद दाहाल तथा उपसचिवमा जलशेर राई, चर्चबहादुर विश्वकर्मा, सम्बर भुजेल, उपिन राईले दावी गरेका छन् । चाम्लिङको पक्षमा पुराना पुस्ताका नेताहरु देखिएका छन् भने, दंगालको पक्षमा युवा तथा विद्यार्थी छन् । सहमतीको नाममा अध्यक्षको पद नछाड्ने दुबै आकांक्षीको अडान छ । अरुलाईभन्दा आ–आफुलाई बलिया ठानिरहेकाले उनीहरु चुनावमा जानकालागि मानसिकरुपमा तयार बनिसकेको आन्तरिक तयारी गरिसकेको श्रोतले जनाएको छ । 
कुमारी चलचित्र भवनमा आयोजना गरिएको बन्दसत्रमा शनिबार अबेरसम्म अध्यक्ष बबी चामलीङको राजनैतिक, सचिव राम दंगालको सांगठनिक र सचिवालय सदस्य भागवत घिमिरेको आर्थिक प्रतिबेदनमाथि छलफल गर्दै पारित गरिएको छ । बन्दसत्रमा जिल्लाका ५२५ जना प्रतिनिधिको सहभागिता रहेको छ । नेताहरुले सर्वसहमतीमा नयाँ नेतृत्व चयन दाबी गर्दैआएका छन् । यद्यपी, पछिल्लो संकेत हेर्दा नेतत्व चयनमा सहमती नहुने सम्भावना उत्तिकै कमजोर देखिएको एमाले श्रोतले जनाएको छ । ‘स्थायी शान्ति, साझा पहिचान सहितको संघीयता र अग्रगामी संविधान, संवृद्ध खोटाङ र सशक्त एमाले निर्माणको लागि छैठौँ जिल्ला अधिवेशन’ भन्ने नारासहित बिहिबार हेलीप्याडमा अधिबेसन उदघाटन गरिएको थियो । 
बुधबार एमाले पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बैकल्पीक केन्द्रीय सदस्य राजन राई, बबी चामलीङ र सचिव राम दंगालले सर्वसहमतीका नेतृत्व चयन गर्ने प्रतिबद्धता जनाएका थिए । ‘प्रायः नेताहरुलाई ठाउँ पाउँदा बोल्ने तर बोले अनुशारको काम नगर्ने आरोप लागिरहन्छ,’ एमालेका एक नेताले भने, ‘तर हामीलाई आशा छ उहाँहरुले पत्रकार सम्मेलनमा जे बोल्नु भयो त्यो गर्नु हुन्छ ।’ 
निर्वाचनका माध्यामबाट नेतृत्व चयन गरिए जिल्लामा पार्टी कमजोर हुने भन्दै सर्वसहमतीको बाटो अपनाउनुपर्ने शुभेच्छुक कार्यकर्ताको छुट्टै पंक्तीको पनि छ । निर्वाचनलाई प्रजातान्त्रिक विधि मानिए पनि नेतृत्व चयनमा निर्वाचन उपयुक्त नहुने एमाले डम्बर्खुशिवालयका सल्लाहकार यामकुमार राईले बताए । ‘पाँच वटा अधिबेसनले सर्वसहमतीमा नेतृत्व चयन गरेको हाम्रो इतिहास छ,’ राईले भने, ‘हामी पार्टी बिभाजन भएको शन्देश लिएर गाउँ फर्कन चाहन्नौँ ।’