बैशाख–१४, नेकपा एमाले खोटाङको अध्यक्षमा बबि चाम्लिङ चयन हुनुभएको छ । बैशाख–१० गते उद्घाटन भएको छैटौं जिल्ला अधिवेशनबाट चाम्लिङ अध्यक्षमा सर्वसहमतीले चयन हुनुभएको हो । 
कमिटिको उपाध्यक्षमा रामप्रसाद दंगाल, सचिवमा देवबिक्रम राई र उपसचिवमा कुमार आचार्य चयन हुनुभएको छ । सोमबार सम्पन्न जिल्ला अधिवेशनले चाम्लिङको अध्यक्षतामा ५९ सदस्यीय कमिटि गठन गरेको एमाले स्रोतले जनाएको छ ।
अध्यक्ष लगायत सबै पदमा आकांक्षीहरु बढि भएकाले दुईदिने अधिवेशन पाँच दिन लम्बिएको एमालेले जनाएको छ । पदाधिकारीमा धेरैले दावी गरेपछि उच्च तहका नेताहरु सम्मिलित समन्वय कमिटि गठन गरेर सहमती गराएका छन् ।  
चाम्लिङ पाँचौं जिल्ला अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । तत्कालीन अध्यक्ष विशाल भट्टराई संविधानसभाको दोश्रो निर्वाचनमा निर्वाचित हुनुभएपछि चाम्लिङले अध्यक्षको भूमिका निर्वाह गरिरहनुभएको थियो । 
‘स्थायी शान्ति, साझा पहिचान सहितको संघीयता र अग्रगामी संविधान, संवृद्ध खोटाङ र सशक्त एमाले निर्माणको लागि छैठौँ जिल्ला अधिवेशन’ भन्ने नाराका साथ स्थानीय हेलीप्याडमा सुरु भएको अधिवेशन केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा जिल्लाका पाँच सय २५ जना प्रतिनिधिको सहभागिता रहेको एमालेले जनाएको छ ।