बैसाख–१५, खोटाङका राजनैतिक दलहरुले भूकम्प पिडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । जिल्लाका भूकम्प पिडितलाई राहत बितरणमा ढिलाइ भएको भन्दै कांग्रेस, एमाले, एमाओबादी, राप्रपा नेपाल, राप्रपा, नेकपा माले, संघीय समाजबादी, खम्बुवान राष्ट्रिय मोर्चा, नेकपा र नेकपा–माओबादीले तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।
दश दलले संयुक्त विज्ञाप्तीमार्फत चार दिन बितिसम्दा समेत भूकम्प पिडितलाई राहतको व्यवस्था नभएकोप्रति दुःख व्यक्त गरेको छ । उनीहरुले भूकम्पका कारण घाइते बनेका सर्वसाधारणलाई उपचार र बिस्थापितलाई उपयुक्त खाद्यान्न र आवासको व्यवस्था मिलाउन आग्रह गरेको छ । दश दलले भूकम्प पिडितको उद्धार र सहयोगका काममा सघाउन आ–आफ्नो मातहतका कार्यकर्तालाई निर्देशन दिएको छ ।
एमाले खोटाङको छैठौं अधिबेसनले समेत भूकम्प पिडितको उद्धार तथा राहतकालागि बिलम्ब नगर्न सरकारसमक्ष माग गरेको छ । दुःखको घडीमा पिडितको उद्धार र सहयोगकालागि एमालेले अन्य सबै दललाई समेत आग्रह गरेको छ । भूकम्पले जिल्लामा मानवीय क्षती नभए पनि ठूलो मात्रामा भौतिक सम्पत्तीमा क्षती पुगेको छ । पछिल्लो जानकारी अनुशार भूकम्पका कारण जिल्लाका ४७ गाबिसका ५९८ घरका तीन हजार २३ सर्वसाधारण बिस्थापित भएको जानकारी आएको जिल्ला दैबीप्रकोप उद्धार समितिले जनाएको छ । क्षतीको बिबरण आउनेक्रम अझै पनि जारी छ ।
भूकम्पले घर भत्किएपछि तीन हजार बढि सर्वसाधारण खुल्ला चौँरमा बस्न बाध्य छन् । कतिपय बिस्थापितहरु छिमेकीको घरमा र विद्यालय भवनमा बसिरहेका छन् । घर भत्किदा खाद्यान्न, भाँडाकुँडा र कपडा पुरिएका स्थानीय सबैभन्दा बढि समस्यामा परेका छन् । घर भत्किएपछि बारी र पाखोमा कष्टपूर्ण बसोबास गर्नु परेको खार्मी–३ का बम भट्टराईले बताए । राहत तथा उद्धारका काम ढिला भएको भन्दै कतिपय बिस्थापितहरु आक्रोशित बनेका छन् । ‘यो देशमा सरकार छ की छैन ?’ महेश्वरी–३ का शम्भु राईले भने, ‘बिस्थापित भएको यत्रो दिनसम्म किन सरकारको प्रतिनिधिको मुख देख्न पाइन्दैन ?’
बिस्थापित भएका खोटाङका तीन हजार सर्वसाधारणलाई समितिले तत्काल उद्धार तथा राहत बितरणको तयारी गरिएको छ । पूर्णरुपमा भत्किएका ५९८ घरका नागरिकलाई पाल तथा रकम बितरणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले जनाए । पाल खरिदका लागि जिल्ला बिकास समितिमार्फत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई दुई लाख रुपैयाँ निकासा दिइएको छ । यस्तै, खोटाङ उद्योग बाणिज्य संघले पनि रेडक्रसलाई ५० थान पाल उपलव्ध गराउने तयारी गरेको छ ।