बैशाख–१६, चट्याङ लागेर खोटाङमा एक वृद्धको घटनास्थलमै ज्यान गएको छ । घरमा बसिरहेको अवस्थामा मंगलबार दिउसो परेको चट्याङ लागेर बाहुनीडाँडा–५ का ६५ वर्षीय तेजबहादुर राईको घटनास्थलमै ज्यान गएको हो ।
मृतकको घरमा परेको चट्याङ लागेर उनको २२ वर्षीया छोरी प्रबिता राई तथा ११ वर्षीया नातिनी सुनिता र आठ वर्षीय नाती मुस्कान राई गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको मिशन अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको आफन्तले जनाएका छन् ।
उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाउने तयारी गरिएको प्रहरी चौकी च्यास्मिटारले जनाएको छ । चट्याङले मृतक राईको फुसले छाएको घर समेत जलेको स्थानीयले जानकारी दिएका छन् । घर जल्दा पुगेको क्षतिको विवरण भने, आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।