बैशाख–१६, महाभूकम्पका कारण काठमाडौंमा अलपत्र परेका जिल्लाबासीको उद्दारका लागि यातायात व्यवसायी संघ खोटाङले दशवटा बस काठमाडौं पठाएको छ । भूकम्पका कारण काठमाडौंमा बिचल्ली परेका जिल्लावासीलाई सहजरुपमा उद्दार गर्ने उद्देश्यका साथ संघले बुधबार दशवटा बस काठमाडौं पठाएको हो । 
संघका सचिव रामकुमार हिङ्माङ आफै बस लिएर काठमाडौं जानुभएको छ । काठमाडौं जानुअघि बसपार्कमा उहाँले भन्दै हुनुहुन्थ्यो, “जिल्लाबासीको उद्दारमा म आफै काठमाडौं जाँदैछु, ज–जस्को आफन्त अलपत्र परेका छन्, मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।”
जिल्लाका विभिन्न ठाउँमा जन्मिएर काठमाडौंमा बसोबास गर्दै आएका खोटाङ्गेलाई सहजरुपमा उद्दार गर्न खाली बस पठाइएको संघका अध्यक्ष गणेशबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले घाटा व्यहोरेर भएपनि जिल्लाबासीको उद्दारमा खाली बस पठाएका छौं, सम्भवतः भोली सबैको उद्दार हुनेछ ।”
भूकम्पका कारण जिल्लाबाट छुट्ने तथा बाहिरबाट जिल्ला भित्रने यातायातका सवारी साधन सहजरुपमा सञ्चालन भएका छैनन् । केही सञ्चालनमा रहेकाहरुपनि त्रासदी पूर्ण अवस्थामा सञ्चालनमा छन् ।