बैशाख–२५, सुनसरीको सहकारी संस्थाले खोटाङका भूकप्प पीडितका लागि राहत सामाग्री उपलब्ध गराएको छ । एभीन्यूज टेलिभिजनको सहकार्यमा अम्बे बचत तथा ऋण सहकारी संस्था ईटहरी–१ सुनसरीले पाँच लाख रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराएको हो । 
सहकारीले दुई सय ५० थान त्रिपाल, दुई सय ४० थान म्याट्रेस, एक/एक हजार गोटा पञ्जा, ड्राइपर र सेनीटरी प्याड उपलब्ध गराएको छ । सहकारीले तीन सय केजी चिउरा, २० कार्टुन चाउचाउ र पाँच सय प्याकेट जीवनजल उपलब्ध गराएको हो । 
सामाग्री प्रदान गर्न सहकारीका अध्यक्ष फडिन्द्र मगर, एभीन्यूज टेलीभिजनका पूर्वाञ्चल ब्यूरो प्रमुख सचिन पोखरेल लगायतका टोली शुक्रबार खोटाङ आएका थिए । राहत सामाग्रीसहित जिल्ला आएका टोलीले जिल्ला प्रशासन र उद्योग वाणिज्य संघको रोहबरमा रेडक्रसलाई सामाग्री उपलब्ध गराएको हो ।
सुनसरीको सहकारी संस्थाले खोटाङका भूकप्प पीडितका लागि उपलब्ध गराएको राहत सामाग्री बुझ्नुहुँदै खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा । एभीन्यूज टेलिभिजनको सहकार्यमा अम्बे बचत तथा ऋण सहकारी संस्था ईटहरी–१ सुनसरीले पाँच लाख रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराएको हो ।  तस्बिरः हाम्रो खोटाङ डटकम
भूकम्पले खोटाङका भौतिक संरचना ठूलो मात्रामा क्षति गरेपनि राज्यले कम प्रभावित जिल्लाका रुपमा राखेकाले पीडितको उद्दारका लागि राहत सामाग्री उपलब्ध गराइएको सहकारीका अध्यक्ष मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “एभीन्यूज लगायत विभिन्न सञ्चार माध्यममा जिल्लाबासीको पीडाका बारेमा समाचार सुनेऔं, त्यसैले थोरै भएपनि खोटाङ्गेलाई राहत हुन्छ भनेर सामाग्री उपलब्ध गराएका हौं ।”
सहकारीबाट प्राप्त सामाग्री अति प्रभावित गाविसका स्थानीलाई प्रदान गरिने रेडक्रस सभापति कुमारसिं बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले अन्याय गरिरहेको अवस्थामा निजी क्षेत्रबाट सहयोग प्राप्त भएको छ, यसले राज्यलाई पनि चुनौति थपिएको छ ।”
भूकम्पले जिल्लामा मानवीय क्षति नगरेपनि ठूलो मात्रामा भौतिक संरचना ध्वस्त बनाएको जिल्ला दैवीप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभएको छ । सापकोटाका अनुसार जिल्लामा दुई हजार एक सय दशभन्दा बढि घर पूर्णरुपमा क्षति भएका छन् भने, उक्त घरका १२ हजार पाँच सय ३७ जना विस्थापित भएका छन् ।
भूकम्पले जिल्लाका चार हजार नौं सय ८६ घर चर्किएको दैवीप्रकोप उद्दार समितिले जनाएको छ । समितिका अनुसार १८ वटा सरकारी कार्यालय पूर्णरुपमा ध्वस्त भएका छन् भने, ५५ वटा चर्किएर कार्यसञ्चालन गर्न सक्ने अवस्थामा छैन ।