बैसाख–२८, खोटाङ सेवा समाज काठ्माण्डौंले काठ्माण्डौंको शंकरपुर नगरपालिका–१२ घुमाकुमारी चोकको माथिल्लो गाउँका भूकम्प पिडितलाई राहत बाँडेको छ । अहिलेसम्म सरकारकातर्फबाट राहत नपाएका घुमाकुमारी चोकका माथिल्लो क्षेत्रका भूकम्प पिडितलाई समाजले गाउँमै पुगेर चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री वितरण गरेको हो । 
भूकम्प गएयता राहत विहिन बनेर बसिरहेका भूकम्प पिडितलाई शान्त्वनास्वरुप खाजाकारुपमा प्रयोग गरिने सामग्री प्रदान गरिएको खोटाङ सेवा समाज काठ्माण्डौंका सचिव बाजिन्द्र बिष्टले बताउनु भयो । राजधानीमा बसोबास गरिरहेका खोटाङबासीले स्थापना गरेको समाजले ११ बोरा चिउरा, १५ काटन चाउचाउ, १२ काटन बिस्कुट लगायतका सामग्री बाँडेको जनाएको छ । समाजका अध्यक्ष राकेश राई नेतृत्वको टोलीले भुकम्प पिडितलाई स्वास्थ्य, शिक्षा र पुःर्नस्थापना लगायतका बिषयमा स्थानीयको ध्यानाकर्षण गराएका छन् । 
शाँखुबाट १० किलोमिटर माथि रहेको घुमाकुमारी चोकको माथिल्लो गाउँमा तामाङ र शेर्पा समुदायको बस्ती रहेको छ । भूकम्पका कारण त्यस गाउँमा तीन जनाको मृत्यु भएको थियो । उनीहरुले हालसम्म फ्रान्सका एक संस्थाबाट मात्र पाल पाएको बताएका छन् । 
यस्तै, समाजले भूकम्पका कारण राजधानीमा अलपत्र बनेका खोटाङ्गेलाई पनि राहत दिएको छ । भुकम्पका कारण घर भत्किएपछि डेराबाट बिस्थापित बनेका खोटाङको लिच्कीराम्चे, खोटाङबजार, खाल्ले र सल्लेका ६ परिवारलाई चामल, दाल, नुन, तेल बाँडेको हो । ढलेको साततले भवनबाट बाँच्न सफल बाक्सिलाका एक परिवारलाई पनि राहत प्रदान गरिएको बिष्टले जानकारी दिनुभयो । यसपल्टको भूकम्पमा खोटाङका १२ जनाले राजधानीमा ज्यान गुमाएका छन् ।