
जेठ–३, जिल्लामा वास्तविक भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि स्थानीय शान्ति समितिले अनुगमन गर्ने भएको छ । बैशाख–१२, १३ र २९ गतेको बिनाशकारी भूकम्पले विस्थापित बनेका भूकम्पपीडित परिवारले राहत नपाएको सबत्र गुनासो आएपछि स्थानीय शान्ति समिति खोटाङले अनुगमन गर्ने भएको हो ।
महाभूकम्पबाट विस्थापित भएका परिवारले राहत नपाएको गुनासो सबैतिरबाट आएकाले अनुगमन गर्ने तयारी गरिएको समितिका संयोजक ललितकुमार राई ‘जीवन’ले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडितका नाममा आएको राहत जिल्लाका टाठाबाठाले लिएको पाइयो, त्यसैले अनुगमन गरेर राहतका लागि वास्तविक पीडितको नाम समितिमा सिफारिस गर्ने तयारी गरिएको हो ।”
![]() |
फाईल तस्विर |
राहत वितरण टोलीलाई दवाव दिएर क्षति नै नभएका व्यक्तिहरुले राहत लिएको पाइएको बैठकमा सहभागी समितिका पूर्व संयोजक तथा राप्रपा नेपाल खोटाङका अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “विपत्तीको यो घडीमा सबैले सहयोग गर्नुपर्नेमा जो पँहुचवाला छ उसैले राहत बुझेको पाइयो, यसबारे सम्बन्धित निकायमा ध्यानाकार्षण गराउँदा समेत चासो नदिएपछि समितिले अनुगमन गर्ने भएको हो ।”
जिल्लाका टाठाबाठाले राहत वितरण टोलीलाई आफ्नो नाम पहिलो नम्बरमा नराखे जागिरबाट हटाइदिनेसम्मको धम्की दिएको एक अधिकारीले बताएका छन् । उहाँका अनुसार कतिपयले फोनको भरमा नाम टिपाएको जनाइएको छ ।
बाहिर भनिएजस्तो आफूकहाँ गुनासो नआएको जिल्ला दैवीप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा त्यस्तो भएको छैन, भौगालिक विकटताका कारण कोही छुटेको हुनसक्छ ! यदि छुटेको भए कार्यालयमा आएर निवेदन दिन सक्नुहुनेछ ।”
जिल्लामा शान्ति समितिको कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठकले आगामी जेठ–६ गतेबाट अनुगमन गर्ने भएको छ । यसका लागि दुई समूह विभाजन गरेर दुवै क्षेत्रमा अनुगमन गरिने संयोजक राईले जानकारी दिनुभयो ।
जिल्ला दैवीप्रकोप उद्दार समितिले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा दुई हजार दुई सय १४ घरपरिवारका १२ हजार नौं सय ५३ जना विस्थापित भएका छन् । १२, १३ र २९ गतेको महाभूकम्पले जिल्लामा मानवीय क्षति नगरेपनि धेरै भौतिक संरचनामा क्षति पुगेको समितिले जनाएको छ ।
झण्डै ४२ हजार घर रहेको जिल्लामा पाँच हजार एक सय ३६ घरमा आंशिक क्षति भएको समितिले जनाएको छ । एक सय ८३ विद्यालय पूर्णरुपमा क्षति भएको छ भने, १९ वटा सरकारी कार्यालय पूर्णरुपमा र ५९ वटामा आंशिक क्षति भएको जनाइएको छ ।
क्षतिको विवरण आउनेक्रम जारी रहेकाले अझै बढ्न सक्ने समितिले जनाएको छ । भौगोलिक बिकटताका कारण क्षतिको विवरण आउन ढिलाइ भएको प्रजिअ सापकोटाको भनाइ छ ।